कांग्रेसले मतदातालाई कुनै पनि भ्रममा पार्दैन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले मतदातासँग गरेका बाच पुरा गर्ने बताएका छन् । मंगलबार मतदातालाई अपिल जारी गर्दै देउवाले कांग्रेसले जे बोल्छ त्यो पूरा गर्छ भन्दै मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको उल्लेख गरेका छन् ।

साथै देउवाले काँग्रेस आम नेपाली नागरिकको ढुकढुकी भएको भन्दै ‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर’ काँग्रेसको मूलमन्त्र भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको समेत बताए । स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको उनको भनाई छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनमा निर्भिकताका साथ सहभागी भई मतदान गर्न पनि देउवाले मंगलबार विज्ञप्तिमार्फत आह्वान गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार नागरिकको हातमा आएको बताए ।

स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न काँग्रेस कसैसँग सम्झौता नगर्ने तर नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक भएको देउवाको तर्क छ ।

संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक-पटक संसद विघटन गरेपछि काँग्रेसको नेतृत्वमा संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दाबी छ । गठबन्धनको सरकारले कोभिड-१९ को नियन्त्रण गर्नुका साथ काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गरिएको पनि बताएका छन् । साथै देउवाले एमसीसी पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेको समेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्