कुलमान घिसिङलाई महाबीर पुनले किन गोरु भने ?



काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले ‘गोरुजस्तै जोतिएर बिजुली बालिदिएको’ भन्दै गोरु तिहारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उनको टिमलाई धन्यवाद दिएका छन् ।

पुनले आफुपनि गोरुजस्तै जोतिएर लागेकाले राष्ट्रिय आविष्कार केन्द्र सफल भएरै छाड्ने घोषणा गरेका छन् ।

‘तिहारमा सबै रमाएको देख्दा किन किन मैले अहिलेसम्म कसैलाई पनि नदिएको शुभकामना गोरू तिहारको उपलक्ष्यमा कुलमान भाईलाई दिन मन लाग्यो’, गोरु तिहारको दिन बिहिबार फेशबुकमा सन्देश लेख्दै पुनले भनेका छन्, ‘गोरु जस्तै जोतिएर कान्तिपुरी नगरीका साथै देशभरका सबै ठाउँमा तिहार र अन्य समयमा पनि बिजुली बत्ति निरन्तर बालिदिएकोमा तिमी सहित बिद्युत प्राधिकरणको तिम्रो सम्पूर्ण टीमलाई धेरै धन्यवाद छ, कुलमान भाई ।’

महाबीर पुनले प्राधिकरणको प्रमुख भएपछि लोडसेडिङ हटाउन कुलमानले गरेको प्रयासप्रति खिसिट्यूरी गर्ने उनका पूर्व सहकर्मीप्रति कटाक्ष गर्दै भनेका छन्, ‘हामीलाई थाहा छ र सुनेकै पनि हो कि तिमीले यसरी काम गर्दा– कुलमानले भनेपनि अझै १० वर्षसम्म नेपाललाई लोडसेडिङ मुक्त गर्न सकिँदैन, यो काम कुनै हालतमा हुनै सक्दैन र भयो भने म जागिरै छाडिदिन्छु अथवा कान काटेर फाल्छु– भनेर कुर्लिने तिम्रा सहकर्मीहरु र तिनका मालिकहरुले पनि बिजुली बत्तीको प्रयोग गरेर पक्कै पनि तिहारको उपलक्ष्यमा उज्यालोमा रमाइरहेका होलान ।’

‘बाहिर बाहिर लोडसेडिङ हटाएर सबै ठाउँमा बिजुली पुर्याउने काम हुनै सक्दैन भनेर कुर्लेका भए तापनि उनीहरुको अन्तरआत्माले भित्रभित्रै रिस गरेरै भए पनि (अहिले) बत्ति त बालिरहेकै होलान नि’, महाबीरले भनेका छन्, ‘बत्ति निभाएर अध्याँरोमा पक्कै बसेका त छैनन् होला ।’

अन्तमा महाबीरले कुलमानलाई जसरी नै आफुलाई पनि अहिले राष्ट्रिय आविष्कार केन्द्रको अभियानलाई लिएर खिसिट्यूरी गरिएको उल्लेख गर्दै आफुपनि सफल भएरै छाड्ने जनाएका छन् ।

‘धेरै जान्ने सुन्नेहरु र नेताका विद्वान सल्लाहकारहरुले यो आविष्कार केन्द्रले सोचेको जस्तो काम कुनै पनि हालतमा हुन सक्दैन भनेर भनेका छन्’, महाबीरले लेखेका छन्, ‘हेर्दै जानुहोस्, आविष्कार केन्द्रको अभियान पक्कै पनि सफल हुन्छ भनेर म गोरुले आज गोरु तिहारको दिनमा घोषणा गर्न चाहन्छु । जय गोरुहरु र गोरु तिहार !’

प्रतिक्रिया दिनुहोस्