कसले कहाँबाट मतदान गर्दै छन् ?



काठमाडौं । स्थानीय निकायमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने दिन नजिकिँदै छ । आजको तेस्रो दिन ३० वैशाखमा देशभर एकै पटक मतदान हुँदै छ । मतदाताको घरदैलोमा पुगेर भोट माग्ने काम उम्मेदवारहरूले पूरा गरिसकेका छन् । कलाकारहरू पनि आफ्नो क्षेत्रका उम्मेदवारलाई मतदान गर्न उत्साहित छन् । उनीहरू घरपायकको मतदानस्थलमा पुगेर भोट खसाल्ने योजनामा छन् ।

अभिनेत्री स्वस्तिमा खड्काका लागि यस पटकको निर्वाचन केही विशेष छ । उनी पहिलो पटक मतदान गर्दै छन् । स्वस्तिमा काठमाडौंको चण्डोलमा रहेको घर नजिकैको मतदानस्थलमा मत हाल्दै छन् । ‘पहिलो पटक मतदान गर्दै छु । राम्रो मान्छेले जितोस् भन्ने चाहना पूरा गर्न मतदान गर्न उत्साहित छु । केही नर्भस पनि छु’, स्वस्तिमा भन्छिन्, ‘जनतामा चाहिँ आधामा उत्साह देखेकी छु, आधा सङ्ख्याले चाहिँ खासै मतलब नगरेको पाएकी छु ।’

स्वस्तिमाको अनुभवमा राजनीतिमै आबद्ध व्यक्तिहरू मताधिकारको प्रयोग गर्नुपर्छ भन्नेमा सचेत छन् । तर, स्थानीय रूपमा आफ्नो जीवनशैलीमा रमाउने व्यक्तिहरू किन मतदानमा जाने भन्ने ? पनि आफूले पाएको उनी बताउँछिन् । सन् २००५ कि ‘मिस नेपाल’, सञ्चारकर्मी तथा प्रशिक्षक सुगरिका केसी ललितपुरको धापाखेलस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । ५ वर्षका लागि नयाँ अनुहार छनोट गर्ने अन्तिम चरणमा आइपुग्दा उनमा उत्साहको कमी छैन ।

‘५ वर्षका लागि प्रतिनिधि चुन्दै छौँ । उत्साह त पक्कै छ । यस पटक मैले चिनेका साथीहरू पनि उम्मेदवार छन् । यस पटक युवा उम्मेदवारी बढी परेको छ । त्यस कारण पनि खुसीसँगै उत्साहित छु’, उनी भन्छिन् । सुगारिका यसअघिका जनप्रतिनिधिले ५ वर्षमा गरेको कामबाट केही हदसम्म सन्तुष्ट छन् । ‘स्थानीय तहले कोभिडका कारण ३ वर्षसम्म राम्रोसँग काम गर्न पाएनन् । तर, जति काम भएको छ, त्यो सन्तोषजनक नै छ’, सुगारिकाको बुझाइ छ, ‘पछिल्लो ५ वर्ष उहाँहरूले द्रुत गतिले काम गर्न पाउनुभएन । मैले जुन ठाउँमा गएर भोट गरेँ, त्यहाँको काम हेर्दा स्थानीय सन्तुष्ट हुनुहुन्छ ।’

सुगरिका जनतामा पनि मतदानप्रति उत्साह देखिएको दाबी गर्छिन् । ‘सामाजिक सञ्जालमा निर्वाचनप्रति उत्साह राम्रो पाएकी छु । विशेषतः युवा अनुहारको उम्मेदवारीले पनि मतदातामा उत्साह दिएको छ’, सुगरिका भन्छिन् । अभिनयसँगै राजनीतिमा सक्रिय रहने कलाकारको पनि मतदानप्रति उत्साह कम छैन । नेपाली कांग्रेसको प्रचारप्रसारमा सक्रिय अभिनेता नीर शाह काठमाडौंको क्षेत्र नम्बर-५ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका-६ स्थित खड्गाभद्रकाली मतदान केन्द्रबाट मत खसाउँदै छन् ।‘५ वर्षमा एक पटक आउने चुनावप्रति जनता जागरुक छन् ।

त्यो जागरुकता ममा पनि छ’, नीर भन्छन्, ‘आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा जोकोही उत्साहित छन् ।’ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला मतदान गर्न विराटनगर जाने सुरसारमा छन् । यसअघिका मतदानहरू विराटनगरमै गरेकी उनका लागि यस पटकको निर्वाचनले छुट्टै उत्साह दिएको छ ।

‘यो निर्वाचन देश बनाउनका लागि भन्दा पनि स्थानीय तह र समाज बनाउनका लागि हो । समाज बन्यो भने मात्र देश बन्छ’, दीपाश्री भन्छिन्, ‘हाम्रोलाई भन्दा पनि राम्रोलाई भोट दिनुपर्छ भन्ने मुख्य कुरा हो ।’अभिनेत्री नम्रता सापकोटा काठमाडौंको सीतापाइलाको मतदानस्थलमा मत खसाल्दै छन् । तर, उनलाई मतदानमा कुनै उत्साह छैन । ‘मतदान गर्नु नियमित प्रक्रिया जस्तै हो । तर, केही नयाँ होला भन्ने आशा मात्र हो’, नम्रता भन्छिन्, ‘हामीले परिवर्तन खोजेका छौँ । त्यो परिवर्तन विजयी उम्मेदवारहरूले ल्याउनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्