चालु खाता ५ खर्ब १२ अर्ब घाटामा



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो नौ महिनामा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता यस वर्ष ४ अर्ब २८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३।७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रहेको थियो । चैतसम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चैतसम्ममा २ अर्ब २५ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्