प्रदेश १ मा निर्वाचनको सबै तयारी पुरा



विराटनगर । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सबै तयारी प्रदेश १ मा पुरा भएको छ । मतदान हुन एक दिन मात्र बाँकी रहँदा आवश्यक निर्वाचन सामाग्रीसहित मतदान अधिकृत र सुरक्षा टोली १ सय ३७ पालिकाका सबै मतदान केन्द्रमा पुगिसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि तीनै वटै तहका सुरक्षाकर्मी पनि मैदानमा खटिएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार बुधबार साँझसम्म प्रदेश १ का सबै जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको तथा पालिका रहेको निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक मतपत्र, स्वस्तिक छापलगायत सबै सामाग्री हस्तान्तरण गर्ने काम पुरा भएकोे छ ।
साथै मतदानस्थलमा खटाइएका कर्मचारी आवश्यक निर्वाचन सामाग्रीसहित जिल्लाबाट तोकिएका ठाउँमा पुगेका छन् । ३ सय मिटर वरिपरिको क्षेत्रलाई मतदानस्थल घोषणा गर्दै मदिरा निषेध गरिएको छ । हातहतियार प्रर्दशन निषेधित क्षेत्रको सूचना जारी भइसकेको छ । स्थानीय तहको निर्वाचनका लागि प्रदेशमा १९ हजार कर्मचारी मतदान स्थलमा पुगिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशस्थित आयोगको कार्यालयले प्रत्येक जिल्ला निर्वाचन कार्यालयमा मतपत्र र अरु जगेडा सामाग्री पठाइएको छ । बिहीबार मतदानस्थल तथा केन्द्रमा बुथ निर्माण गरिनेछ । महिला र पुरूषको लागि बेग्लाबग्लै लाइनको व्यवस्था गरिनेछ ।
जेष्ठ नागरिक, अपाङ्ग, गर्भवती र सुत्केरी, लैगिंक तथा यौनिक अल्पसंख्यकले भने मतदान गर्न लाइन बस्नु पर्दैन । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र पालिकास्तरमा रहेको निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार हुने निर्वाचनका लागि चुनावी तयारी सुरु गरेका छन् ।
प्रदेश निर्वाचन कार्यालयले छुटेका मतदाताको परिचयपत्र वितरणको काम पनि एक साथ गरिरहेको छ । निर्वाचनका लागि ३२१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता नविनराज राईले स्थानीय तह निर्वाचन सुरक्षा योजना अनुसार प्रदेश १ मा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् । आवश्यक सूचना सङ्कलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ । निर्वाचनको पहिलो घेरामा रहने नेपाली प्रहरीको सङ्ख्या भने १० हजार ५ सय ५१ जना प्रहरी मैदानमा खटिएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाहेक थप १७ हजार ३८२ म्यादी प्रहरी पनि परिचालन गरिएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरणको आधारमा अनुसार प्रदेशमा रहेका कुल ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदान स्थल मध्ये ३२१ मतदान स्थल ‘अति संवेदनशील’ रहेको छ । ८४९ वटा संवेदनशील र ७०७ वटा सामान्य रहेका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गरी मंगलबार राती १२ बजेपछि प्रदेश १ का ४ वटा जिल्लाको सीमा नाका मंगलबार रातिदेखि बन्द गरिएको छ ।
इलामको पशुपतिनगर, झापाको काँकरभिट्टा, भद्रपुर, मोरङको जोगमनि, सुनसरीको भन्टावारि भारतसँग जोडिएका मुख्य नाका बन्द गरिएको हो । यसबाहेक चीनसँग सीमा जोडिएका हिमाली जिल्ला सङ्खुवासभाको किमाथाङ्का नाका पनि बन्द रहेको छ ।
प्रदेश १ मा १ लाख १२ हजार नयाँ मतदाता थपिएर कुल ३३ लाख ४७ हजार ३८४ जना मतदाता छन् । १ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका प्रदेश १ मा कुल १ हजार ५७ वडा रहेका प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनको माध्यमबाट कुल ७ हजार ८५९ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्