सक्षम पुस्ताको अपेक्षा



  • नगेन्द्रराज पौडेल

काठमाडौं । चिनियाँ आहान छ, ‘हामीलाई एक किलो माछा होइन, माछा मार्ने तरिका सिकाइदेऊ ।’ आफ्नो खुट्टामा उभिन चाहनेहरूले भन्नुपर्ने यही हो । यसको अभ्यास विद्यालय शिक्षादेखि हुनुपर्छ । हामीकहाँ वर्तमान युवा पुस्ताको शैली, व्यवहार र गतिविधि देख्दा न अनुशासन, न नीति नियम, न त आदर सत्कार, केही पनि देखिदैन ।

केही पनि पाइँदैन । सब शून्य । आसन्न स्थानीय चुनावी गतिविधिलाई लिएर मै हुँ भन्ने नेताको बोली, भाषा र गतिविधि हेर्दा आगामी पुस्तामा त्यसको प्रभाव कतिसम्म नकारात्मक पर्ला अनुमान गर्न कठिन छैन । आखिर सोचअनुसार मानिसको व्यवहार हुन्छ भनेर त खप्तड स्वामीले विचार विज्ञानमा भनेकै छन् ।

विद्यालय शिक्षा मूल आधार

संस्कार, आचरण र मूल्य, मान्यता हस्तान्तरणका लागि विद्यालय शिक्षा महत्वपूर्ण मानिन्छ । जे सिक्यो, त्यसैको परावर्तन आगामी जीवनमा हुने हो । यसै पनि आजका विद्यार्थीहरू भविष्यका राष्ट्रका कर्णधार हुन् । भनिन्छ, विद्यार्थीहरू काँचो माटो हुन्, शिक्षक कुमाले हो । उसले जुन भाँडो बनाउन खोज्यो, त्यही बनाउँछ । यसै कारण संसारका सबैजसो देशमा शिक्षकलाई सम्मानपूर्वक हेरिन्छ । उनीहरूप्रति आदर्श व्यवहार गरिन्छ । तर, हामीकहाँ यसको ठिक उल्टो छ ।

हाम्रो समाजमा डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी तथा अन्य पेसाकर्मीलाई आदरको रूपमा हेर्ने गरिन्छ । तर, शिक्षण पेसालाई हेयको दृष्टिले हेर्ने गरिन्छ । डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी तथा अन्य पेसाकर्मी उत्पादन गर्ने अन्ततः शिक्षकहरू नै हुन् र शिक्षक जस्तो पवित्र पेसा अरू हुनै सक्दैन । शिक्षण पेसा एउटा तपस्या हो । एउटा बालकलाई समाज र राष्ट्रको असल नागरिक बनाउने काम शिक्षकको हो । कक्षाकोठामा भएकै बालबालिकाहरू पछि गएर समाज र राष्ट्रका अभिन्न अङ्ग बन्छन् । ती असल भए समाज र राष्ट्र पनि असल हुन्छ । ती खराब भए राष्ट्र नै खराब हुन्छ ।

तसर्थ राष्ट्र बनाउने जस्तो पुण्य काम कसरी हेय हुन सक्छ ? शिक्षकले ‘म शिक्षक हुँ’ भनेर गौरवका साथ भन्न सक्नुपर्छ । ‘शिक्षक नभए कोही पनि डाक्टर, इन्जिनियर, राजनेता, वैज्ञानिक आदि हुनै सक्दैनन् । अरू पेसा नपाएर भन्दा पनि तिनीहरूलाई बनाउन नै म शिक्षक भएको हुँ । मैले पनि अरू पेसा गर्न सक्थेँ तर अरूलाई असल बनाउन मैले शिक्षण पेसा नै रोजेको हुँँ’, भन्ने आँट प्रत्येक शिक्षकले गर्नुपर्छ ।

बिरासत गुमाउँदै शिक्षक

केही समयअघि तनहुँमा शिक्षकको पेसागत सङ्गठनका पदाधिकारीले महिला शिक्षकको सरुवाका लागि उनीसँग फोन गरेको, म्यासेज पठाएको र सरुवाका लागि यौन प्रस्ताव राखेको कुरा सार्वजनिक भयो । तनहुँमा मात्र होइन, देशका विभिन्न जिल्लामा शिक्षकद्वारा आफ्नै छात्रा बलात्कृत भएका बग्रेल्ती घटनाहरू देखिन्छन् ।

बालमैत्रीका नाममा सरकारले करौडौँ रुपैयाँ लगानी गरिसकेको छ तर धेरै ठाउँमा आज पनि शिक्षकको पिटाइबाट विद्यार्थी सिकिस्त भएका घटनाहरू देख्न सकिन्छ । पेसागत संघ, सङ्गठनको नाम भजाएर विगतमा यिनै शिक्षकका नेता भन्नेहरूले शिक्षा मन्त्रालयमा नै हालीमुहाली गर्थे ।

आफूअनुकूलको मन्त्री आउँदासाथ जिल्ला शिक्षा अधिकारीदेखि शिक्षा निर्देशकसम्मको सरुवा मिलाइदिन भनी जिल्लाजिल्लामा पैसा उठाउँदै हिँड्थे । आयोग खुल्नै हुँदैथ्यो, ‘तँलाई पास गराइदिन्छु’ भन्दै उम्मेदवारसँग रकम उठाउँदै हिँड्ने चलन आज पनि कायम नै छ ।

भोलि हुन गइरहेको स्थानीय चुनावमा कति जना शिक्षक त राजनीतिक दलका तर्फबाट निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा उम्मेदवारका तर्फबाट मत गणना प्रतिनिधिसमेत बनेका हुनेछन् । यति मात्र होइन, मत गणनामा धाँधली गर्‍यो भनी उनीहरूकै सिफारिसमा जिल्ला शिक्षा अधिकारी (हाल इकाइ प्रमुख)को सरुवा भएमा पनि अन्यथा नमाने हुन्छ । किनभने विगतमा शिक्षककै सिफारिसमा शिक्षा अधिकारीहरू कार्बाहीमा परेका अनेकानेक उदाहरणहरू छन् । कुकुरले पुच्छर हल्लाउनुको सट्टा पुच्छरले कुकुर हल्लाउने पद्धति भएको ठाउँमा हुने यही हो ।

एउटा उदाहरण

भारतमा अङ्ग्रेजहरूको राज भएका बेलामा महात्मा गान्धी दक्षिण अफ्रिकामा वकालत गर्दै थिए । त्यहाँ रङ्गभेदका विरुद्धमा लडिरहेका बेला उनलाई भारतीय राजनीतिमा ल्याउन प्रमुख भूमिका बालगङ्गाधर तिलकले खेलेका थिए । भारतको राष्ट्रिय कांग्रेसका शीर्ष नेता रहेका उनी एउटा विद्यालयमा शिक्षक नै थिए । त्यहीँबाट सक्रीय राजनीतिमा उनी लागेका थिए । जब भारत १९४७ अगस्टमा स्वतन्त्र हुने निश्चित भयो एक पत्रकारले बालगङ्गाधर तिलकलाई सोधे, ‘अब हाम्रो राष्ट्र स्वतन्त्र हुने निश्चित भइसक्यो, तपाईं स्वतन्त्र भारतको कुनै मन्त्रालयको मन्त्री हुन चाहनुहुन्छ ?’

बालगङ्गाधरले पत्रकारलाई जबाफ दिए, ‘म कुनै पनि मन्त्रालयको मन्त्री हुन चाहन्नँ, म त आफ्नै शिक्षण पेसामा फर्केर स्वतन्त्र भारतमा असल नागरिक बनाउनमा लाग्नेछु, जसले गर्दा भारत स्वतन्त्र, सार्वभौम, प्रगतिशील, उन्नतितिर लागोस् ।’यो एउटा कर्तव्यनिष्ठ शिक्षकले देशका लागि गरेको त्याग र समर्पणको सटीक उदाहरण थियो । २०३६ साल, २०४६ साल र २०६२/०६३ सालमा हाम्रा शिक्षकहरूले पनि बालगङ्गाधरले जस्तै महान् काम गरिसकेका छन् ।

राजनीतिले अब बाटो समातिसकेको छ । अब फेरि त्यसको ब्याज असुल्नतिर नलागी (मन्त्री, सांसद वा मनोनीत पदको आकाङ्क्षा नगरी) असल नागरिक तयार गर्नमा नै आफूलाई समर्पित गर्नुुपर्छ । सच्चा शिक्षकको निष्ठा यसैमा झल्किन्छ ।असल र चारित्रिक नागरिक उत्पादन गर्न सकेमा शिक्षकका लागि सबैभन्दा पुण्यकर्म नै यही हो ।

उदाहरण बन्न सिकौँ

एउटा शिक्षक सधैँ बालबालिका, समाज र सिकारुका लागि पथप्रदर्शक बन्न सक्नुपर्छ । बालबालिकाको जीवन बनाउने महान् लक्ष्य लिएर अघि बढनुका साथै आफ्नो विषय र लक्ष्य जहिले पनि सिक्ने/सिकाउने नै हुनुपर्छ । आफूले अँगालेको शिक्षण पेसालाई संसारकै उत्कृष्ट पेसा सम्झी पेसासँग सन्तुष्टि लिन सके मात्र आदर्श शिक्षकका रूपमा स्थापित हुन सकिन्छ । शिक्षक समग्रमा सिकारुका लागि उदाहरणीय र समाजका लागि अनुकरणीय बनी प्रस्तुत हुन सक्नुपर्छ ।

यसै कारण अल्बर्ट आइन्स्टाइन भन्ने गर्थे, ‘मैले विद्यार्थीहरूलाई पढाउँदिनँ, केवल पढ्ने वातावरणको सिर्जना गरिदिन्छु ।’ राजनीतिज्ञलाई झैँ एउटा कुरा भन्ने तर व्यवहार भने अर्कै गर्ने छुट शिक्षकलाई छैन र हुनु पनि हुँदैन । एउटा बालकलाई गुलियो खान नहुने रोग थियो । उसकी आमाले उसलाई रामकृष्ण परम्हंसकोमा सम्झाइदिनू भनेर लगिन् तर रामकृष्णले उसलाई ३ सातापछि ल्याउनु अनि म सम्झाऊँला भनी फर्काइदिनुभयो ।

३ सातापछि उनले पुनः छोरालाई लगिन् । रामकृष्णले बालकलाई छेउमा बोलाएर प्रेमपूर्वक ‘अबदेखि तिमीले गुलियो नखानू है’ भनेर सम्झाउनुभयो । बालकले पनि ‘अबदेखि म गुलियो खान्नँ’ भन्ने प्रतिज्ञा गर्‍यो। आमालाई अचम्म लाग्यो । उहाँले रामकृष्ण परम्हंसलाई सोध्नुभयो, ‘तपाईंले यति कुरा त ३ साता अगाडि नै बताइदिएको भए भइहाल्थ्यो नि ! किन तपाईंले त्यतिबेला नै नभन्नुभएको ?’ उनले आफू बेकारमा २ पल्ट आउनुपर्‍यो भनेर गुुनासो गरिन् । रामकृष्ण परम्हंसले सहज भावमा जबाफ दिनुभयो, ‘त्यो त ठीकै हो तर त्यतिबेला म नै धेरै मिठाई खान्थेँ अनि कसरी यो बालकलाई नखाऊ भनेर भन्ने ? गएको ३ सातादेखि मैले मिठाई खान छाडेँ त्यसैले उसलाई नखाऊ भनेको हुँ ।’

हो, आजको समाजले खोजेको शिक्षक यिनै रामकृष्ण जस्तै हो । शिक्षकले कक्षामा सुर्तीजन्य वस्तु मानिसका लागि हानिकारक हो भनी त्यसका दोष कक्षाको बोर्डभरि लेख्ने, विद्यार्थीलाई नखानू पनि भन्ने तर आफू शिक्षक बस्ने कोठामा गएर गफ मार्दै सिगरेट वा खैनी खाइरहेको ती विद्यार्थीले देख्दा उनीहरूमा के असर पर्ला ? यो ज्यादै विचारणीय कुरा हो ।

यही अवस्था मादक पदार्थ सेवन, छर छिमेकमा हुने झैझगडामा शिक्षकको संलग्नता, स्वावलम्बी व्यवहार आदिमा देख्न, पाउन सकिन्छ । यी सबैमा असल शिक्षकको सकारात्मक हस्तक्षेपले विद्यार्थीहरूको आगत सपारी चरित्र निर्माणमा सघाउ पुर्‍याउँछ ।
अन्यथा किताबका माछा नखानू भने पनि खोलाका माछा खान हुन्छ भन्ने स्थिति पैदा गराउन सक्ने हुँदा असल शिक्षकले यस्ता कुरामा सदैव ख्याल गर्न जरुरी छ । भनिन्छ, ‘शिक्षक सधैँ विद्यार्थीभन्दा एक कदम अगाडि हुनै पर्छ ।’ एउटा भनाइ छ, ‘शिक्षाको अन्त नै चरित्र हो । त्यसैले शिक्षाले प्रत्येक विद्यार्थीको आचरण बनाउन वा परिवर्तनतिर लगाउन सक्नुपर्छ र अनि मात्र पाठ्यव्रmम आदिको ठूलोठूलो विषयमा सोच्नुपर्छ ।’

यसै कारण शिक्षाको मूल ध्येय व्यवहारमा आउने सकारात्मक परिवर्तन नै हो भनिएको पाइन्छ । हाम्रो उद्देश्य ठूलो मानिस होइन, असल मानिस बनाउनेमा हुनुपर्छ । सबै विद्यालयमा पढेका असल भए समाज असल हुन्छ र समाज असल भए राष्ट्र अनि राष्ट्र असल भए संसार नै असल हुन्छ र चारैतिर शान्ति छाउँछ । शिक्षकमा ब्रह्माको जस्तो रचनात्मक गुण हुनुपर्छ, जसले विद्यार्थीमा लुकेको गुणहरू प्रकट गर्न मद्दत पुर्‍याओस् ।

विष्णुलाई जगत्का पालनकर्ता भनिन्छ । गुरुले पनि सबै सिकारुहरूलाई दुःख, सुख, कठिनाइमा सहयोग गरी उनीहरूको पालन गर्नुपर्छ । शिवलाई संहारकर्ता भनिन्छ । बालबालिकामा भएका दुर्गुणहरूको नास गरी असल मानिस बनाउनमा शिक्षकले राम्रो भूमिका निर्वाह गर्नुपर्छ, तब मात्र शिक्षक परब्रह्मा हुन सक्छ । आशा गरौँ, कम्तीमा पनि आगामी पुस्ता सक्षम, सबल र गुणस्तरीय बनोस् । यसका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहोस् । माछाको अपेक्षा होइन, त्यो प्राप्त गर्ने विधिको सिकाइ हुन सकेमा मात्र आगामी पुस्ता सक्षम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्