उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण पुष्टि



एजेन्सी । उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमका अनुसार नेता किम जोङ उनले छिट्टै नै भाइरसलाई उन्मूलन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बीए.२ का रूपमा परिचिच ओमिक्रोन भेरिएन्ट भेटिएपछि उत्तर कोरियामा राष्ट्रिय आपत्काल घोषणा गरिएको छ । उत्तर कोरियाले कति जनालाई कोरोना संक्रमण भयो भन्नेबारे भने केही जानकारी दिएको छैन । उत्तर कोरियाले यसअघि भने मुलुकमा कोरोना पुष्टि नभएको दाबी गर्दै आएको थियो ।

तर रिपोर्टहरूका अनुसार भने कोरोना संक्रमण देखिए पनि उत्तर कोरियाले गोप्य राखेको थियो । उत्तर कोरियाले कोरोनाविरुद्ध खोप अभियान पनि सुरु नगरेको बताइएको छ । चीन र रुसमा भनेको कोरोना खोपको प्रस्ताव पनि उसले अस्वीकार गरेको थियो ।

चीनलगायतका मुलुकमा कोरोना संक्रमण फैलिएपछि उत्तर कोरियाले पूर्ण रूपमा सीमा बन्द गरेको थियो । दक्षिण कोरिया र चीनमा संक्रमणले महामारीको रूप लिए पनि उत्तर कोरियाले संक्रमण पुष्टि नभएको दाबी गरेको थियो। दुई वर्षसम्म सीमा बन्द गरेको उत्तर कोरियाले गत जनवरीमा मात्रै चीनसँगको सीमा खोलेको थियो ।

खोप नलगाएको र मुलुकको कमजोर स्वास्थ्य प्रणालीका कारण ओमिक्रोन भेरिएन्ट देखिनुले उत्तर कोरिया निकै जोखिममा रहेको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्