नगरप्रमुख विरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्ष सहित नेकपाका कार्यकर्ता पक्राउ



खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्ष सहित छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरूले बुधवार बिहान चक्काजाम गर्न खोजेका थिए ।

चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ का वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँगै चक्काजाममा बसेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

चक्काजाम गराउन बसेका वडाध्यक्ष सहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि अहिले दिक्तेल–हलेसी सडकखण्ड तनावग्रस्त बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्