भक्तपुरमा रहेका बौद्ध सम्पदाको साइकलमार्फत अध्ययन भ्रमण हुने



भक्तपुर । बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि विहार भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजनामा भक्तपुरमा रहेका बौद्ध सम्पदाको साइकलमार्फत अध्ययन भ्रमण हुने भएको छ ।

३१ वैशाखमा बिहान ७ बजे भक्तपुर इनाचोमास्थित मुनि बिहारबाट शुरू हुने यात्रामा सहभागीले भक्तपुरका विभिन्न महाविहार, बाहा, बही तथा चैत्यहरूको अध्ययन भ्रमण गर्ने छन् ।

साइकल यात्रा धर्मोत्तम महाविहार(मुनि विहार) खँचाबाट सुरू भइ इन्द्रवर्ण महाविहार इनाचो, मंगल धर्मदीप महाविहार(झौरबही) गोलमढी, लुँ बहा, सुकुलढोका चतुरब्रह्म महाविहार साकोठाबाट टौमढी हुँदै अखण्डशील महाविहार–बोलाछेँ, नासमना पुग्नेछ । त्यहाँंबाट पुनः खौमा बहा–खौमा, पद्मपानी लोकेश्वर (लस्क द्य)– इनाछेँ, जेतवर्ण महाविहार – तेखापुखु, कुटु बही– भार्वाचो, थथु बही–नः पुखू, पुण्य जेतवन महाविहार– इटाछे पुग्नेछ । त्यहाँंबाट पुनः भक्तपुर दरबार स्वायर–बालाखु–त्रिपुरासुन्दरी–छुमागणेश–महालक्ष्मी–वाउँ बहा, बेखाल, प्रशन्नशील महाविहार– क्वाथन्दौबाट नवदुर्गा– गछें पुग्नेछ । त्यहाँंबाट पुनः आदिपद्म महाविहार–सूर्यमढीबाट जेंंला–वाचु टोल हुँदै पुनः मुनिविहारमा पुगेर समापन हुने छ ।

सम्पदा अध्येता तथा लेखक गणेशराम रञ्जितले कार्यक्रमका सहभागीलाई भक्तपुरमा रहेका विभिन्न बौद्ध सम्पदा सम्बन्धित इतिहास तथा किंवदन्तीकोबारे यात्राको दौरान जानकारी दिनेछन् । भक्तपुरका युवा पुस्तालाई यहाँका सम्पदाको विषयमा ज्ञान दिन र सम्पदाको महत्व संरक्षणकोबारे सचेत बनाउन अध्ययन भ्रमण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी भएर सम्पदाबारे अध्ययन अवलोक गर्न तथा भक्तपुरमा साइकल संस्कृतिलाई विकास गर्न सबैलाई निमत्रणा गर्दै भगवान बुद्धको शान्ति, मैत्री र करूणाको सु–सन्देश फैलाउन सबैले योगदान गर्न आयोजककोतर्फबाट साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले आह्वन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्