सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा



म्याग्दी : बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । 

जिल्लाको उत्तरीक्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका कारण दुर्गन्ध फैलिएर स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका हुन् । 

यहाँ सङ्कलन हुने फोहर सडकमै फालिएकाले दुर्गन्धका साथै दुर्घटनाको जोखिमसमेत बढेको गलेश्वरका दीपक कार्कीले बताए । यसअघि फोहर व्यवस्थापन गरिँदै आएको जलेश्वरस्थित कालीगण्डकी किनारमा गत साउनदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण लागिएकाले सडक छेउमै फोहर फालिएको हो । 

निर्माण भएको केन्द्र सञ्चालनमा ल्याउन ढिलाइ हुँदा नगरपालिकाले सडकमै फालेको फोहरले म्याग्दीको बारेमा नकारात्मक सन्देश फैलिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । 

म्याग्दी भ्रमण वर्ष मनाइरहेका बेला उत्तरी म्याग्दीको प्रवेशस्थलमा फोहर फालिनु नगरपालिकाको गम्भीर लापर्बाही भएको कार्कीको भनाइ थियो । बेनपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले फोहर व्यवस्थापनमा खटिएका कर्मचारीको कमजोरीले फोहर व्यवस्थापनमा समस्या देखिएको बताउँदै आवश्यक उपकरण र प्रक्रिया पूरा गरेर फोहर व्यवस्थापन केन्द्र सञ्चालन गरिने जानकारी दिए ।  

बेनी बजारको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्यले उक्त नगरपालिको वडा नं ८ र ९ को सिमाना रातोपहिरोमा रु ४७ लाखको लागतमा उक्त केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कुहिने फोहरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्