तेल बोक्ने ट्यांकरमा लागुऔषध



विराटनगर : डिजेल लोड भएको ट्यांकरमा लागुऔषध फेला परेको छ। भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर विराटनगर आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा कोडिन फोसफेड एण्ड क्लोरफेनीमेन नामक लागुऔषध फेला परेको हो।

प्रहरीले विराटनगर महानगरपालिका–४ पिपल चोकबाट सह–चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजु र ट्यांकरलाई नियन्त्रणमा लिएको छ। चालक भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय मोहम्मद सफिक फरार छन्।

कोसी राजमार्गमा नो पार्किङ लेखिएको स्थानमा रोकिएको ट्याङकर नियन्त्रणमा लिने क्रममा प्रहरीले लागुऔषध फेला पारेको हो।

ट्यांकर भित्र चालक भने थिएनन्। पक्राउ परेका सह–चालकले चालक खाना खान गएको प्रहरीलाई बताएका छन्। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ट्यांकरबाट चार बोतल कोडिन नामक लागुऔषध फेला परेको बताए। उनले लागुऔषधको तीनवटा खाली बोतल पनि भेटिएको जानकारी दिए।

नियन्त्रणमा लिइएको लिइएको ट्यांकर र पक्राउ परेका सह–चालकका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्यांकरका चालक र सह–चालक दुवै जना लागुऔषध सेवनकर्ता भएको प्रहरीले जनाएको छ। बरौनी डिपोबाट जोगवनी नाका हुँदै नेपाल भित्रने पेट्रोलियम ट्यांकरमा पहिलो पटक लागुऔषध फेला परेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्