सर्लाहीमा काँग्रेसले मलंगवा १ बाट खोल्यो खाता



सर्लाही । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ ।

यसैक्रममा सर्लाहीमा नेपाली काँग्रेसले मलंगवा नगरपालिका १ बाट विजय सुरुवात गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका १ मा नेपाली काँग्रेसका उमेदवार नबलकिशोर यादव विजयी भएका छन् ।

मतगणनामा सहभागि स्रोतका अनुसार ४५ वर्षीय नवलकिशोर ४२३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक अन्तिम मतपरिणाम भने आउन बाँकी छ । त्यहाँ वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए ।

मेयरतर्फ भने कांग्रेसका नागेन्द्र प्रसाद रायले ४५५, जसपाका निरसल साहले ३६६ र नेकपा एकीकृत समाजवादीका देवेन्द्र रायले ८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी सकुन्तला देवीले ४१८, जसपाकी पानोदेवीले ३७३ र लोसपाकी सीमा झाले १९ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्