साना दल, चोटिलो जनबल



काठमाडौं । ‘कार्यकर्ताभन्दा नेता धेरै’ भनेर आलोचित भएका साना र नयाँ राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारले केही पालिकामा ठूला दलहरूलाई ठूलै ठक्कर दिएका छन् । हेभी वेट नेताका गृहपालिका र निर्वाचन क्षेत्रमा साना दल अनि ओझेलमा परेका उम्मेदवारका पक्षमा जनमत ढल्किएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ मा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार नरेश भण्डारी वडाध्यक्ष निर्वाचित भएका छन्। भण्डारीले कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई १२९ मतले पराजित गरे । भण्डारीले ६७३ मत ल्याउँदा देउवाले ५४४ मत ल्याएका छन्। डडेलधुरा कांग्रेस पूर्वसभापति कर्णबहादुर मल्ल समूहले नेपाली कांग्रेस बीपीको निर्वाचन चिह्न करुवाबाट जिल्लाभर उम्मेदवार उठाएको छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट विजयी सुरुवात गरेको छ । चामुण्डा विन्द्रासैनी– १ मा नेमकिपाका उदय कामी वडाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पार्दै उनी विजयी भएका हुन् । कामीले ३१७ मत ल्याएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इलामको माङसेबुङ गाउँपालिका– ५ मा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राईको प्यानल विजयी भएको छ।

गठबन्धनका तर्फबाट राईसहित उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्ष निर्वाचित राईले स्वतन्त्र प्रतिस्पर्धी सुबदल सेलिङलाई पराजित गरे । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारहरूले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर अन्य पार्टीका उम्मेदवारलाई टक्कर दिएका छन्। जनमत पार्टीले सर्लाही, सप्तरीसहित मधेस प्रदेशका केही पालिकामा यस पटक आफ्नो उपस्थिति बलियो बनाएको छ। सप्तरीको कंचनपुर नगरपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका र अन्य पालिकामा आफ्ना उम्मेदवारले अन्य दलका उम्मेदवारलाई पराजित गर्ने अवस्था बनेपछि गठबन्धन र ठूला दलहरूले आफ्ना उम्मेदवारविरुद्ध षड्यन्त्र गरेका जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए।

उनले द नेपालटपसँग भने, ‘हामीविरुद्ध षड्यन्त्र भएकाले पुनः मत गणना गर्न लगाएका छौा, हाम्रा उम्मेदवारहरू विजयी हुनेछन् ।’ सिंहका अनुसार जनमत पार्टीले झापादेखि कंचनपुरका अधिकांश पालिकामा उम्मेदवारी दिएको छ । उदयपुर र काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा पनि यस पार्टीका उम्मेदवार छन्।विप्लव समूहले रोल्पा, कालीकोट, कपिलवस्तु, गुल्मी, पाल्पा, गोरखा,डडेल्धुरा, सर्लाही, ललितपुरलगायतका जिल्लामा स्वतन्त्र उम्मेदवार खडा गरेको छ।

ललितपुर महानगरपालिका– १ मा विप्लव समूहका वडाध्यक्षका उम्मेदवार निर्मल तण्डुकारले प्रारम्भिक अग्रता लिएका छन् । उनी अघिल्लो निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । पार्टीले पुनः यो अवसर नदिएकाले विद्रोह गरेका तण्डुकारले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
४ पालिका जित्ने दाबी
निलम्बित संघीय सांसद रेशम चौधरीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीका विभिन्न स्थानीय तहमा आफ्ना उम्मेदवार खडा गरेको छ। शनिबार बिहानदेखि सुरु भएको मत गणनामा टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा यस पार्टीका उम्मेदवारको मत परिणाम अन्य दलका उम्मेदवारभन्दा अघि देखिएको छ ।

कैलालीका टीकापुर, जोशीपुर, जानकी र भजनीमा आफ्ना उम्मेदवार विजयी हुने पार्टीका सङ्गठन विभाग प्रमुख लक्ष्मण चौधरीको दाबी छ । ‘हाम्रो मुख्य प्रतिस्पर्धी सत्तारूढ गठबन्धन र नेकपा एमाले हुन्, पार्टी गठन भएको ४ महिनामै हामीले गठबन्धन र एमालेका उम्मेदवारलाई पराजित गर्दै छौँ’, उनले भने ।

मतसँगै निर्णायक भाग्य !
इलामको माइजोगमाई गाउँपालिका– १ मा नेकपा एमालेका यामबहादुर कार्की गोलाप्रथाबाट वडाध्यक्ष निर्वाचित भएका छन्। आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकबहादुर शाहसँग बराबर मत आएपछि उनी गोलाप्रथाबाट वडाध्यक्ष चयन भएका हुन् ।

मत गणनाका क्रममा कार्की र शाहको समान १०८४ मत आएको थियो । यो वडाका अन्य पदमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मनाङको चामे गाउँपालिका– ५ को अध्यक्षको छिनोफानो पनि गोलाप्रथाबाट भएको छ । मत गणनाका क्रममा एमालेका कैले गुरुङ र कांग्रेसका उम्मेदवार फुर्पा गुरुङको समान ३०–३० मत आएपछि गोलाप्रथा हुँदा एमाले उम्मेदवार गुरुङ विजयी भएका हुन्। वडाध्यक्षमा विजयी भएका गुरुङ यसअघि २०७४ सालको निर्वाचनबाट यही वडाका वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्