विश्वमा पनि छन् इतिहास बनाउनेहरू



काठमाडौं। शिक्षाको स्तर र रोजगारीको सुरक्षालाई पछिल्लो समय दक्षिण एसियाली युवाले सबैभन्दा महत्ववपूर्ण आवश्यकता ठहर गर्न थालेका छन्। यसैको परिणाम स्वरूप यी देशका मूल शहरमा हुने आवधिक निर्वाचनमा परिवर्तनकारी शक्ति या मूलधारको शक्तिको विरुद्धमा मतदान हुने गरेको छ।

शिक्षाको स्तर र रोजगारीको सुरक्षाका मुद्दामा आफूलाई बढी केन्द्रित गर्दै आएका भारतका अरविन्द केजरीवालले २०१२ नोभेम्बरमा स्थापना गरेको आम आदमी पार्टीले सन् २०१४ देखि दिल्लीमा आफ्नो प्रभाव सुरु गरेको थियो। यस दलले सन् २०२० मा भएको निर्वाचनमा ५३ दशमलब ५७ प्रतिशत मतसहित दिल्लीमा अभूतपूर्व सफलता पाएको थियो। त्यसै वर्ष भएको निर्वाचनमा पन्जाबमा आम आदमीले ४२ प्रतिशत मत पायो ।

भारतमा स्थापित दल कांग्रेस आई र भारतीय जनता पार्टीको प्रभावलाई चुनौती दिँदै आम आदमीको प्रभाव अहिले बढ्दो छ। ३७ वर्षीया सना मारिन फिनल्यान्डकी प्रधानमन्त्री हुन् । लामो समयदेखि राजनीतिमा संलग्न त्यस देशका हस्तीहरूलाई हराउँदै सना १९ डिसेम्बर २०१९ मा प्रधानमन्त्री निर्वाचित भइन् । उनी ३४ वर्षको उमेरमा प्रधानमन्त्रीको कुर्सी सम्हाल्दै फिनल्यान्ड इतिहासकी कान्छी प्रधानमन्त्री भइन् ।

उनी २० वर्षको उमेरमा सो पार्टीमा आबद्ध भएकी थिइन् । संसारमै यसरी सनसनी फैलाउने काम भने फ्रान्सका एमानुएल म्याक्रोँले गरे । सन् २०१७ मा उनी फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए। उनी सोसलिस्ट र ‘गाउलिस्ट’को समर्थनबिना नै राष्ट्रपति हुने पहिलो व्यक्ति हुन् । उनी नेपोलियन प्रथमपछि फ्रान्सको इतिहासमै सबैभन्दा कान्छो उमेरमा राष्ट्र प्रमुख पनि भए। बैकिङ र वित्तीय क्षेत्रमा अब्बल म्याक्रोँ सन् २०१२ मा सोसलिस्ट दलमा आबद्ध हुँदै राष्ट्रपति होल्यान्डेलाई निर्वाचनमा विजयी गराउने अभियानमा संलग्न भए ।

उनै म्याक्रोँ होल्यान्डेको जितसँगै आर्थिक सल्लाहकार कमिटीका उपप्रमुख भए । सन् २०१५ मा राजधानी पेरिसमा भएको आतङ्ककारी बम हमलापछि म्याक्रोँको सोसलिस्ट पार्टीसँगको सम्बन्ध बिग्रिएको थियो । यससँगै उनले ‘एन मार्चे’ नाममा अभियान सुरु गरे । म्याक्रोँको चुनावी अभियानमा फ्रान्सेली कम्युनिस्ट पार्टीको सहयोगमा सन् २०१२ देखि सत्ता सम्हालेको समाजवादी पार्टीको सामना गर्नु कठिन थियो नै ।

दक्षिणपन्थी गठबन्धनका उम्मेदवार ली पेन पनि त्यतिकै बलिया आँकिएका थिए । पहिलो चरणमा म्याक्रोँले २४ प्रतिशत मत पाएका म्याक्रोँले दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा दुई तिहाइ मत पाए । एन मार्चेले संसद्मा ५७७ सिटमध्ये ३०८ स्थानमा जित हात पारेका थिए ।

त्यसै वर्ष भएको निर्वाचनमा उनी दोस्रो कार्यकालमा विजयी भइसकेका छन् । युरोपेली युनियनसँगको सुमधुर सम्बन्धका साथै बिग्रिएको फ्रान्सको अर्थतन्त्रलाई सुधार गरेका म्याक्रोँ दोस्रो कार्यकालका लागि विजयी भएसँगै मतदानबाट राजनीतिक परिवर्तन चाहने सबैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्