सच्चिनै पर्छ दलहरू



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्ला दिन भनिरहेका छन्– अब देश २ ध्रुव (दलीय)मा जानुपर्छ। स्थानीय तह निर्वाचनको मुखैमा उनले २ ध्रुवीय राजनीतिको विषय उठान गर्नु र प्रारम्भिक परिणामहरूले महत्वपूर्ण मानिएका शहरी क्षेत्रमा स्वतन्त्र र नयाँ अनुहारले उत्साहजनक मत ल्याउनु संयोग मात्र होइन ।

घोषणापत्र लिएर दलहरू पहिलो पटक जनताको दैलोमा पुगेका होइनन्। यस अर्थमा उनीहरूका आकर्षक नारा जनताको नजरमा पर्ने अवस्था भएन। अवस्था के देखिँदै छ भने, दलहरूको परम्परागत राजनीतिक शैली र संस्कारबाट जनता बाहिरिन खोजिरहेका छन्। शहरी क्षेत्रमा दलविहीन उम्मेदवारले आसलाग्दो गरी मत ल्याउनु यसको सङ्केत हो। काठमाडौं महानगरपालिकामा स्वतन्त्र युवा उम्मेदवार बालेन्द्र साहको प्रारम्भिक ‘क्रेज’, जनकपुरधाम उपमहानगरमा (कांग्रेसकै बागी सही) मनोज साह, धनगढी उपमहानगरमा गोपाल हमाल,धुलिखेल नगरपालिकाका स्वतन्त्र (कांग्रेस बागी) विदुर बस्नेतलगायतको मतले भन्दै छ–अब दलहरूले सच्चिन ढिला भइसकेको छ ।

विगतमा मतदाताले यी र देशभरका अधिकांश स्थानमा दलका उम्मेदवारलाई पत्याएकै हुन् । परिणामले के देखायो भने, उनीहरूमा कि दलीय उन्माद देखियो, कि मेरो विकल्प मै मात्र हो भन्ने दम्भ देखियो । यसको प्रत्यक्ष असर जनताको दैनिकी र विकास, निर्माणमा देखियो । यही कारण जनता विस्तारै दलविहीन पात्रसँग अपेक्षा गरिरहेका छन् । काठमाडौं महानगरलगायतका स्थानमा स्वतन्त्र उम्मेदवारले जति मत पाइरहेका छन्, यो सहानुभूतिको होइन, दलहरू भाषणमा भोलिदेखि यही रटान लगाउनेवाला छन् । तर, उनीहरूले बुझ्नै पर्छ–अब पार्टीको समग्र एजेन्डादेखि लिएर उनीहरूले अघि सार्ने अनुहारमा निर्मम समीक्षा हुनै पर्छ । अझ प्रष्ट भाषामा भन्दा, उनीहरू सच्चिनै पर्छ ।

लोकतान्त्रिक आचरण दाबी गरेर पार्टीभित्र जनवादी केन्द्रीयताको अभ्यास, दाजु र बा संस्कार बोकेर हिँडेका दललाई दण्डित गर्ने बेला आइसकेको थियो, मतदाताले यो दण्ड दिन सुरु गरेका छन् । दलहरू सच्चिए भने अझै पनि स्थिति उनीहरूको नियन्त्रणबाट बाहिर गइसकेको छैन।

तर, यस निर्वाचनबाट आउने परिणामलाई अपवाद र सक्षम उम्मेदवार नपरेको अर्थमा मात्र बुझे भने ५ वर्षपछि दलहरूले आफ्नो अस्तित्व जोगाउन स्वतन्त्रविरुद्ध दलीय मोर्चाबन्दीमै उत्रनुपर्ने अवस्था सन्निकट देखिन्छ। शासनमा देखाएको एकलकाँटे पन, विकासमा देखाएको बेवास्ता र जनतामाथि गरिएको व्यवहार दलका लागि घातक बन्दै छ । दलहरूले बेलैमा सोचून्, उनीहरू वास्तवमै अब सच्चिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्