स्थानीय तह निर्वाचन : महानगरपालिकामा एमाले पछिपछि



काठमाडौं । देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा २ वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन।

हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका र विरगन्ज महानगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार अग्रस्थानमा आउन सकेका छैनन्।

हालसम्मको मतगणना अनुसार ६ वटा महानगरपालिकाको प्रमुखमध्ये २ वटामा नेपाली कांग्रेस, एउटामा नेकपा (माओवादी केन्द्र), एउटामा नेकपा (एकीकृत समाजवादी), एउटामा जनता समाजवादी पार्टी, नेपाल र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन्। उनले हालसम्म २ हजार ८२० मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ५०७ मत पाएका छन्।

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्। उनले हालसम्म ८ सय ७७ मत प्राप्त गरेका छन्। ललितपुरमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४ सय २ मत प्राप्त गरेका छन्।

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन्। उनले हालसम्म १ हजार १ सय २१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवारले १ हजार ४० मत ल्याएका छन्।

भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्। उनले हालसम्म १ हजार ७ सय २७ मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्।

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्। उनले हालसम्म २ हजार ५ सय ८३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सागरकुमार थापाले १ हजार ६ सय १५ मत ल्याएका छन्।

विरगन्जमा महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन्। उनले हालसम्म १ हजार ८ सय १० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजयकुमार सरावगीले ७ सय ४७ मत ल्याएका छन्।

प्रारम्भिक मतगणनामा ६ वटै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

प्रतिक्रिया दिनुहोस्