८ अस्पतालले आइतबार ओपीडी सेवा बन्द नगर्ने



काठमाडौं । केही ठूला अस्पतालहरूले आइतबार पनि स्वास्थ्य सेवालाई निरन्तरता दिने निर्णय गरेका छन् । सरकारको निर्णय अनुसार आइतबारदेखि सरकारी स्वास्थ्य संस्थामा हप्तामा २ दिन शनिबार र आइतबार आकस्मिक बाहेकका ओपीडी सेवा बन्द भएका छन् ।
२ दिन ओपीडी बन्द हुँदा नागरिकलाई स्वास्थ्य सेवा लिन असुविधा हुने विषयलाई मध्यनजर गर्दै ती अस्पतालहरूले आइतबार ओपीडी सेवालाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, प्रदेश अस्पताल सुर्खेत, आयुर्वेद चिकित्सालय नरदेवी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालले आइतबार ओपीडी सेवा सञ्चालन गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बिदाको विषयमा थप छलफल आवश्यक रहेको भन्दै हाललाई नियमित रूपमा आइतबार पनि विगतमा जस्तै सेवा सञ्चालन भएको बताए ।
त्यसैगरी चितवनको भरतपुर अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म न्यून शुल्कमा ओपीडी (पेइङ ओपीडी) सेवा सञ्चालन गर्ने बताएको छ ।
अस्पतालले आइतबारदेखि अन्यत्रका निजी अस्पतालमा भन्दा थोरै ‘कन्सल्टेसन’ शुल्क लिएर पेइङ ओपीडी सेवा दिने बताएको हो ।
वीर अस्पतालले पनि लगातार तीन दिनको बिदा परेका कारण आइतबार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । तर अर्को हप्ता थप बिदाको विषयमा स्वास्थ्य मन्त्रालयको स्पष्ट जानकारी आएपछि लागु गर्ने अस्पताल निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले बताए ।
यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्वास्थ्यकर्मीको समयतालिका मिलाएर मात्रै बिदाको निर्णयमा जाने जनाएको छ । आयुर्वेद चिकित्सालय नरदेवीले पनि आइतबार बहिरंगसहितका स्वास्थ्य सेवा सुचारु गरेको छ । ‘सेवाग्राहीको हित र स्वास्थ्यको मौलिक हकलाई मध्यनजर गर्दै आयुर्वेद चिकित्सा विकास समितिले आइतबार पनि चिकित्सालयको बहिरंग लगायतका सेवा सुचारु गर्ने निर्णय गरेको छ । साविक बमोजिम सेवा लिनुहुन सम्पूर्ण सेवाग्राहीमा अनुरोध गर्दछौं,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कान्ति बाल अस्पतालले भने तत्कालका लागि आइतबार बिदा दिने निर्णय कार्यान्वयन नहुने जनाएको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्नका लागि आवश्यक गृहकार्य गर्नुपर्ने भएकोले अर्को निर्णय नभएसम्मका लागि आइतबार अस्पतालको सम्पूर्ण सेवा यथावत् सञ्चालन गरिने अस्पताल प्रशासनले बताएको छ ।
प्रदेश अस्पताल सुर्खेतले पनि सूचना जारी गर्दै आइतबार बिदा दिने निर्णयबाट पछि हट्दै आइतबार नियमित सेवा दिने जनाएको छ ।
गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्