भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन्। आफ्नो नेपाल भ्रमणले सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने उनको विश्वास छ। २५६६औँ बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन मोदी आज (सोमबार) लुम्बिनी आउँदै छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी मोदी लुम्बिनीको मायादेवी मन्दिर परिसरमा हुने विशेष कार्यक्रम, पूजा तथा ध्यानमा सहभागी हुनेछन्। लुम्बिनी भ्रमण र पूजाआजाका लागि आफू उत्साहित रहेको मोदीको भनाइ उद्धृत गर्दै भारतीय प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

‘म बुद्धजयन्तीको पावन अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न पाउँदा उत्साहित छु। भगवान् बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न लाखौँ भारतीयसँगै लुम्बिनी जान पाउँदा म गौरवको महसुस गरिरहेको छु’, आइतबार जारी विज्ञप्तिमा भनिएको छ। उनी आज बिहान ११ बजेतिर भारतको उत्तर प्रदेशको कुशीनगर हुँदै लुम्बिनी आउने कार्यतालिका तय गरिएको छ। कुशीनगरबाट हेलिकोप्टरमा आउने मोदीको लुम्बिनी बसाइ करिब ६ घन्टा हुनेछ। उनी भगवान् गौतमबुद्धको जन्मस्थल आउने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

लुम्बिनीमा ५ हजार व्यक्ति अट्ने क्षमताको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने र यही हलमा हुने विशेष कार्यक्रमलाई देउवा–मोदीले सम्बोधन गर्नेछन् । मोदीको यस पटकको नेपाल भ्रमण लुम्बिनी क्षेत्रमा सीमित हुनेछ । उनी काठमाडौं र अन्यत्र जाने कार्यक्रम छैन । लुम्बिनीमै देउवा–मोदीबीच भेटवार्ता हुनेछ । भेटवार्तामा जलविद्युत्, विकास र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहयोग विस्तार गर्नेबारे छलफल हुने मोदीले बताएका छन् । ‘जलविद्युत्, विकास र कनेक्टिभिटीलगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न हाम्रो साझा समझदारीलाई निरन्तरता दिनेछौँ’, विज्ञप्तिमा भनिएको छ।

मोदीले लुम्बिनी बिहार क्षेत्रमा रहेको इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको भूमि पूजा र शिलान्यास गर्नेछन् । यो संरचना भारतको आर्थिक सहयोगमा तयार हुनेछ । लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा देउवा–मोदीबीच भेटवार्ताको कार्यक्रम तय गरिएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको प्रतिनिधि मण्डल र भारतीय विदेश मन्त्रालयका अधिकारीहरूबीच यही होटलमा द्विपक्षीय छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्