कांग्रेसकी कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष



तनहुँ । यसपालिको स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् ।

जिल्लाको भानु नगरपालिका-१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन् । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गरे।

वडा सदस्यामा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ । खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्यमा सावित्रि सुनारले ७५१ मत ल्याएर विजयी भएका छन् ।

यसपालि भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा हालसम्म वडाध्यक्षमा निर्वाचित हुने कान्छीमाया पहिलो हुन् । जिल्लाको १० स्थानीय तहको ८५ वडामा वडाध्यक्ष बन्नलाई ४०८ जनाले उम्मेद्वारी दिएकामा महिला १७ जना मात्र छन् । तिमध्ये जित हासिल गर्ने उनी पहिलो हुन् ।

२०६२ सालदेखि परिवर्तनशील महिला सामुदायिक विकास संस्था सञ्चालन गरेकी उनले विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै महिला सशक्तिकरणलाई जोड दिदै काम गर्ने बताइन् । ‘युवाहरूसँग मिलेर काम गर्ने योजना छ । पशुपालन र कृषिलाई व्यावसायीकरण गर्नेछु’, उनले अगाडी थप्दै भनिन्, ‘सुकुम्बासीको समस्या समाधान गर्न विशेष पहल गर्नेछु ।’

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा जिल्लाको ऋषिङ गाउँपालिका-८ मा नेपाली कांग्रेसकी भविसरा आलेले निर्वाचित भएकी थिइन् ।

भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । छ हजार २२८ मत गणना हुदाँ भानुको मेयरमा नेपाली कांग्रेसका आनन्द राज त्रिपाठी एक हजार ६८१ मतान्तरले अगाडी छन् । उपमेयरमा कांग्रेसकी उमा गोतामे दुई हजार १०६ मतले अगाडि छन् ।

त्रिपाठीले तीन हजार २०७ मत पाएका छन् । नेकपा एमालेका सिताराम बगजाईंले एक हजार ५२६ मत पाएका छन् । उपमेयरमा गोतामेको दुई हजार ७९२ मत आएको छ । एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेद्वारी दिएका केशरबहादुर गुरुङको ६८६ प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्