भक्तपुरमा नेमकिपाको क्लीन स्वीप



भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लीन स्वीप गरेको छ । नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन् । यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुन मेयर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे।

कांग्रेसका उम्मेदवार कासुलाले ३ हजार ४०७ मत मात्रै ल्याए । यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्य राम त्वायनाले २ हजार ३९९ मत ल्याए । उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशी २९ हजार ७५९ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याइन् ।

१० वटा वडा रहेको भक्तपुर नगरपालिकाका सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडाध्यक्षमा श्याम कृष्ण खत्री, २ नम्बर वडाको वडाध्यक्षमा हरि प्रसाद बासुकला, ३ नम्बर वडाको वडाध्यक्षमा राजकृष्ण गोरा, ४ नम्बर वडाको वडाध्यक्षमा उपेन्द्र सुवाल निर्वाचित भएका छन्।

यस्तै, ५ नम्बर वडाको वडाध्यक्षमा योगेन्द्र मान बिजुक्छें, ६ नम्बर वडाको वडाध्यक्षमा हरि राम सुवाल, ७ नम्बर वडाको वडाध्यक्षमा उकेश कवां, ८ नम्बर वडाको वडाध्यक्षमा कृष्ण प्रसाद कोजू, ९ नम्बर वडाको वडाध्यषमा रविन्द्र ज्याख्व र १० नम्बर वडाको वडाध्यक्षमा लक्ष्मी प्रसाद हयौमिखा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्