एसइई नतिजा राम्रो नआउँदा निर्मलाकी दिदी मनीषाको पढाई रोकियो



महेन्द्रनगर : एसइई परीक्षाको नतिजा राम्रो नआउँदा निर्मला पन्तकी दिदी मनिषाको पढाई रोकिएको छ। नर्सिङ विषय पढ्ने सोच बनाएकी मनीषाको एसइईको नतिजा राम्रो नआएपछि पढाई रोकिएको हो।

मनीषाले केही विषयमा राम्रै अंक ल्याए पनि गणित र ऐच्छिक गणितमा सोचे अनुसारको नतिजा नआएपछी ग्रेड सुधारको परीक्षाको तयारी गर्दै घरमै बसिरहेकी छन्। उनले हालसम्म कुनै विद्यालयमा भर्नाका लागी निवेदन दिएकी छैनन्।

छोरीलाई कहाँ पढाउने ? कुन विषय पढाउने भन्ने बिषयमा टुंगो लगाउन नसकेको निर्मलाकी आमा दुर्गा देविले सुनाईन्। उनी भन्छिन्,‘घट्नापछि राम्रोसंग पढ्न पाइन्, गणित विषयमा राम्रै गरेको छु भन्थी, विषय लाग्यो, अब राम्रो विषय पढ्न पाउँदिन त्यसैले के पढाउने सोच्नै सकेको छैन्।’

शैक्षिक सत्रको सुरुवातमै बहिनी निर्मलाको बलात्कारपछि हत्या भयो। त्यसपछि हत्यारा पत्ता लगाउन निरन्तर आन्दोलन चर्कियो। घटनाले ठूलो रुप लिएपछि खाने बस्ने ठेगान नै भएन। आमा बुवा दिनहुँ न्यायको खोजीमा आन्दोलनमा जाँदा निर्मलाकी दिदी मनीषाले पढने त समय नै पाइनन्। उनले एसइई परीक्षा दिँदा पनि राम्रो तयारी गर्न पाइनन्।

फलस्वरुप उनले एसइईमा २ दशमलव २ जीपीए अंक त ल्याईन् गणित र ऐच्छिक गणितमा सोचे अनुसारको नतिजा आएन्। ‘राम्ररी पढ्न पाएको भए राम्रै नतिजा ल्याउन सकिन्थ्यो, तर यो नतिजाबाट म सन्तुष्ट भने छैन,’ मनीषाले भनिन, ‘मैले पढ्नै नपाई परीक्षा दिएकी हुँ।’ उनले विगतमा नर्सिङ पढ्ने इच्छा राखेकी थिइन। तर, नतिजा राम्रो नआएपछि कुन विषय पढ्ने भन्नेमा अन्यौलमा छिन्।

हत्यारा सार्वजनिक गर्न माग गर्दै आमा बुवाले सुरु गरेको धर्ना र अन्य आन्दोलनमा उनी पनि नियमित सहभागी भइन। तीन–चार महिना त उनले किताब हेर्नै पाइनन्। स्कुल आउने जाने मात्रै। विद्यालयमा पनि पढ्न मनै नलाग्ने।

विद्यार्थीमा त्रास कायमै

निर्मला अध्ययन गर्ने सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीमा अझै त्रास कायम छ। त्रासले पठनपाठनमा समेत प्रभाव परिरहेको विद्यार्थी तथा शिक्षक बताउँछन्। निर्मलाकी साथी लक्ष्मी बडूले एक वर्षसम्म हत्यारा पत्ता लाग्न नसक्दा आफूहरूमा त्रास नहटेको बताइन्।

उनले भनिन, ‘निर्मलाको हत्यारा पत्ता नलाग्दा विद्यालय आउजाउ गर्नै डर लाग्छ।’ लक्ष्मीको घर निर्मलाको हत्या भएको उखुबारीनजिकै हो। अर्की साथी कविता पाण्डे पनि निर्मलाको घटनाका बारेमा विभिन्न मानिस आएर सोधपुछ गर्ने गर्नाले मनमा त्रास कायमै रहेको बताउँछिन्।

विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डेले निर्मला हत्याका बारेमा विद्यार्थीलाई पटकपटक सोधपुछ गरिँदा पनि मनोवैज्ञानिक असर परेको बताए। उनले भने, ‘अहिले पनि विद्यार्थीमा डरको वातावरण कायमै छ।’

निर्मलाको शव फेला परेको स्थलबाट विद्यालय आउजाउ गर्ने धेरै विद्यार्थी भएकाले उनीहरूमा पनि त्रास रहेको उनले बताए। उनका अनुसार निर्मलाको हत्यापछि विद्यार्थीमा पढाइप्रतिको रुचि घटेको छ।

प्रतिक्रिया दिनुहोस्