साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र



खोटाङ । खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका रबीप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन्।

रबीप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन्।

एमालेका अध्यक्षका उम्मेदवार गोपीकृष्ण खड्काले ९६७ र उपाध्यक्षका उम्मेदवार दिलकुमारी राईले ९८६ मत पाएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा विजयी बनेका खड्का र उपाध्यक्षमा निर्वाचित खड्का भने यस चुनावबाट पराजित भएका छन्। ५ वडा रहेको गाउँपालिकामा ४९३४ मत खसेकामा ९८ मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस्