२ वर्षमा ८२ प्रतिशत बढ्यो खाने तेलको भाउ



काठमाडौं । मंगलबार बिहान बिनीता गुरुङ बानेश्वरस्थित एउटा खुद्रा पसलमा खाने तेल किन्न पुगिन् । पसलले गुरुङलाई तेलको भाउ सुनाएपछि लाग्यो, अब काठमाडौंमा भान्सा चलाउन नसकिने भो ! ‘दैनिक ज्याला मजुदरी गरेको कामले महिनामा बल्लबल्ल १५ हजार रुपैयाँ आउँछ ।

एक महिनाको १५ हजार तलवले त तेल, तरकारी किनेर खान समेत नपुग्ने भो,’ उनको दुखेसो छ, ‘वर्षदिन अघि १५ हजार रुपैयाँले पुग्थ्यो। अहिले मुस्किल छ। वर्षदिन अघि एक पोका तेल १६५ रुपैयाँ पाउँथ्यो अहिले त्यही तेललाई ३२० रुपैयाँ तिर्नुपरेको छ ।’ बानेश्वरस्थित कोठामा बस्दै आएकी गुरुङले एक कोठाको महिनामा ७ हजार रुपैयाँ तिनुपर्छ । खानेपानी र फोहोरको गरी महिनामा छुट्टै ५०० रुपैयाँ तिर्नुपर्छ । दाल, चामल, नुन, तेल, तरकारी गरेर महिनामा २५ हजारभन्दा बढी खर्च हुने गुरुङ बताउँछिन् । गुरुङ घर घरमा गएर लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् ।

घरमा लुगा धोएर दैनिक ५ सय रुपैयाा कमाउने उनको परिवारलाई अहिले घरखर्च चलाउनै मुस्किल छ । दैनिक उपभोग्य वस्तुको भाउ आकासिएपछि बच्चालाई कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ। अनामनगरमा कोठा भाडा लिएर बस्दै आएकी सीता चौधरीको पीडा पनि बिनिता गुरुङको भन्दा फरक छैन । बढ्दो महँगीले उनको निद्रा उडाएको छ। चौधारी पनि दैनिक ज्याला मजदुरी गरेर महिनामा मुिस्कलले १५ हजार रुपैयाँ कमाउँछिन् । कोठा भाडा ८ हजार रुपैयाँ तिर्नुपर्छ । उनलाई साथ दिने श्रीमान् सँगै छैनन् । तर, दुई बच्चाको स्याहार आफैंले गर्नुपर्छ। उनी पनि अरूकै घरमा भाँडा माझ्ने र लुगा धुने गर्छिन् । दुःखेसो पोख्दै चौधरी भन्छिन्, ‘महँगी जति बढे पनि हुने खानेलाई केही फरक पर्दो रहेन छ ।

फरक पर्ने भनेको हामीजस्ता गरिबलाई मात्र हो।’ गरिबको लागि सरकार पनि नहुने उनको अनुभव छ । भर्खरै स्थानयि तहको चुनाव भएको छ । तर उनलाई अब आउने जनप्रतिनिधिबाट पनि खास आस छैन । ‘पहिलाकाले त हेरेनन् नयाँले हेर्छन, हाम्रा दुःख देख्छन् भन्ने लाग्दैन,’ स्थानीय सरसकारसँग पनि उनको भा टुटिसकेको छ। बिनिता गुरुङ र सिता चौधरी त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय महँगीले आकास छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ । सरकारी निकाय भने बजार महँगीलाई नियन्त्रण गर्न छोडेर मूकदर्शक बनेर बसेको छ।

२०७७ बैशाखमा १७० रुपैयाँ पर्ने सूर्यमुखी तेलको मूल्य अहिले ३१० रुपैयाँ पुगेको छ । भने १६५ पर्ने भटमासको तेल ३०४ रुपैयाँ पुगेको छ। २ वर्षको अवधिमा सूर्यमुखी तेलमा मात्र प्रति लिटरमा ८२ प्रतिशत मूल्यवृद्धि भएको नेपाल खुद्रा व्यापार संघको तथ्यांकले देखाउँछ।

फेरी बढेर आयो तेलको मूल्य
भारतीय इण्डियन आयल कर्पाेरशनले (आईओसी)ले पुनः पेट्रोलियम पदार्थको मूल्य वढाएको छ । नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा मूल्य बढाएर पठाएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए। निगमका अनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ ५८ पैसाले र बढाएर डिजेल प्रतिलिटर ३ रुपैयाँ ८९ पैसाले बढाएर पठाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ।प्रवक्ता उपाध्यायका अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ। आईओसीसँग खरिद गर्ने प्रशोधित तेलको मूल्य वृद्धिसँगै निगमको नोक्सानी थप बढेको उनले बताए । उनले पछिल्लो ५ महिनाको अवधिमा आईओसीबाट प्राप्त हुने मूल्य सूची उच्च दरले बढेको आएको बताए । प्रवक्ता उपाध्यायका अनुसार ५ महिनाको अवधिमै पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ, डिजेलमा ६२ रुपैयाँ, मट्टितेलमा ४०, हवाई इन्धनमा ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ बढेको छ। उनले नयाँ मूल्य खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा, डिजेलमा ३५ रुपैयाँ ३३ पैसा घाटा रहेको बताए ।

पछिल्लो पटक समायोजन गरेको मूल्य अनुसार निगमलाई १५ दिनमा करिब ४ अर्ब ४९ करोड घाटा हुने प्रवक्ता उपाध्यायको भनाइ छ। प्रवक्ता उपाध्यायले निगम निरन्तर घाटा व्यहोरिरहेको आईओसीलाई मे महिनाको पहिलो किस्ता १२ अर्ब ८० करोड रुपैयाँ भुक्तानी दिन नसकेर वक्यौता रहेको बताए । उनका अनुसार दोस्रो किस्ता वापत आउने मे २३ तारिखमा थप करिब १८ अर्ब भुक्तानी गर्नुपर्ने छ। निगमले उक्त रकम आईओसीलाई भुक्तानी नगरे पेट्रोलियम पदार्थ सहज रुपमा आर्पूति गर्न निगमलाई चुनौती हुने हुने प्रवक्ता उपाध्यायको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्