आधुनिक हतियार छाडेर भागेका विप्लव नेता ६ महिनापछि पक्राउ



विराटनगर : धरानमा आधुनिक हतियार छाडेर भागेका विप्लव समुहका नेतालाई प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ। गत फागुन १५ गते धरानमा आधुनिक हतियार छाडेर भागेका विप्लव समुहका नेता दिपक राईलाई प्रहरीले पक्राउ गरेको हो।

गत फागुन १५ गते आधुनिक हतियारसहित मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले पिछा गरेको थाहापाएपछि उनी फरार भएका थिए। तर प्रहरीले मोटरसाइकलमा सवार विप्लवसमुहका नेता देवकुमार लिम्बुलाई पक्राउ गरेको थियो।

करिब छ महिनादेखि प्रहरीको खोजी सूचीमा रहेका उनी मोरङको केराबारीबाट पक्राउ परेका हुन्। केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय दीपक राई विप्लव समूहका धनकुटा–मोरङ सेक्रेटरी हुन्। उनी बिहीबार बिहान पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ गर्ने तयारी गर्दै गर्दा उनी आफ्ना साथी, अत्याधुनिक हतियार र मे ५ प ७५ नम्बरको मोटरसाइकल छाडेर धरान उपमहानगरपालिका–६ पानवारीबाट भागेका थिए।

स्थानीयबासीको सहयोगमा प्रहरीले बेलवारी नगरपालिका– १० घर भएका ‘विप्लव’ समूहका कोसी ब्युरो सदस्य देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो। उनको साथबाट नेपाली सेनाले द्वन्द्वकालमा अमेरिकाबाट खरिद गरेर ल्याएको र नेपालमा सेनाले मात्रै प्रयोग गर्ने अत्याधुनिक हतियार एलएमजी एक थान र एम १६ एकथान बरामद भएको थियो।

हतियार बोकेर मोटरसाइकलको पछाडि सवार रहेका ‘विप्लव’ समूहका धनकुटा–मोरङ सेक्रेटरी राई भने आफ्ना साथीसहित दुवै हतियार र मोटरसाइकल छाडेर भागेका थिए। फरार भएका उनका बारेमा त्यतिबेलै पहिचान खुलेपछि प्रहरीले खोजी तीव्र पारेको थियो।

फरार रहेका राईको खोजी तीव्र पारेर प्रहरीले लिम्बूलाई भने सांगठित अपराध र हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाएको थियो। राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ। बम विष्फोट, चन्दा आतंक, हतियार ओसारपसार लगायतका धेरै घटनामा उनको संलग्नता रहेको खुलेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्