सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा माओवादी विजयी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन्।

माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रत्याशी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत ल्याए।

उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुँदा उनकी प्रत्याशी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् ।

चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो। माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु) सभामुख अग्नि प्रसाद सापकोटाका भाइ हुन्। २०७४ सालको निर्वाचनमा पनि सो नगरपालिकामा माओवादीलेनै जितेको थियो।

अहिलेसम्म सिन्धुपाल्चोकमा सात वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भैसकेको छ। जसमा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, बलेफि गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ईन्द्रवती गाउँपालिका अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।

नेकपा माओवादी केन्द्रको २, नेपाली कांग्रेस ४, १ नेकपा एमालेले प्रमुख पदमा विजयी हासिल गरेको छ। सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह मध्ये ५ वटा पालिकाको मतगणना भने जारी छ।

प्रतिक्रिया दिनुहोस्