कहाँ छन सडक विभाग र स्थानीय सरकार ? सडकका खाल्डा-खुल्डी आफैँ पुर्दै विद्यार्थी



कावासोती : पुर्वपश्चिम राजमार्ग र आसपासका भित्रि सडकहरुमा ठुला-ठुला खाल्डा छन् । दिनभरिको झरीले पानी जमेर ती खाल्डाहरु देखिँदैन । यसका कारण नवलपुरमा दैनिक दुई दर्जन साना-ठुला सवारी साधनहरु दुर्घटनामा पर्छन् । राजमार्ग सडक विभागको जिम्मा भन्दै स्थानीय सरकारको समेत त्यहाँ आँखा पुगेकाे छैन्  । 

मोटरसाईकल, स्कुटी, साइकल र साना गाडीहरु सडकमा भएको खाल्डाले हिड्नै नसक्ने अवस्था छ । सबै जसोले सडक विभाग, सरकारलाई गाली गरिरहेका छन् । तर कावासोतीका केही युवा विद्यार्थीहरुले भने आफै उदाहरणीय कार्य गरेर देखाएका छन् ।उनीहरु ३ दिन देखि राजमार्ग र आसपासका सडकमा परेका खाल्डा खुल्डी पुर्ने काममा व्यस्त छन् । 

विद्यार्थीका मुद्दा र सामाजिक विकृति विरुद्द सधैँजसो टायर बाल्ने, विरोध गर्ने, -याली गर्ने जमातको रुपमा पहिचान बनाएको विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघ कावासोती नगर समितिका विद्यार्थीहरुले यस पटक फरक काम गरेर जनताको मन जितेका छन् । 

परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ नेवि संघ कावासोती नगर समितिका नवनिर्वाचित अध्यक्ष कृष्ण कंडेलले भने- 'अरुलाई गरेन भनेर गाली गरि समय खेर फाल्नुभन्दा आफैँ गर्नु बेस लाग्यो ।' 

राजमार्ग र आसपासका सडक हिँड्नै नसक्ने अवस्थामा पुग्दा पनि कसैको नजर नपुगेकाले विद्यार्थी युवाहरु मिलेर खाल्डो पुर्ने काममा लागेको कंडेलको भनाई छ । 

नेविसंघले ३ दिन देखि लगातर कावासोती नगरपालिकामा गिटी, बालुवाले सडकको खाल्डो पुर्ने कार्य गर्दै आईरहेको छ । संघले गरेको कार्यप्रति स्थानीयले खुलेर प्रंशसा गरेका छन् । जनताको ढाड सेक्ने गरि कर लिने, जनताको सुरक्षाप्रति गैरजिम्मेवार सरकार र जनप्रतिनीधिका निम्ति नेविसंघको भूमिकाले दरिलो झापड दिएको छ । यसबाट पाठ सिकेर अन्य नागरिक अगुवाहरुले समेत यस खाले सकारात्मक र रचनात्मक कार्य गर्नु आवश्यक रहेको कावासोतीका स्थानीय खगसरा गुरुङ्गको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्