कैलालीको गोदावरीको मेयरमा कांग्रेसका भट्ट निर्वाचित



कैलाली । कैलालीको गोदावरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उमेदवार वीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको नगरमा वीरेन्द्रले नेकपा (एमाले)का सचिव समेत रहेका लेखराज भट्टका भाइ गोकर्ण भट्टलाई पराजित गरेका हुन् । नेकपा (माओवादी केन्द्र) छोडेर एमालेका सचिव बनेका लेखराजले भाइ गोकर्णलाई एमालेबाट गोदावरी प्रमुखको उमेदवार बनाएका थिए ।

सत्ता गठबन्धनका तर्फबाट चुनाव लडेका वीरेन्द्र १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गोकर्णले ११ हजार २२४ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकी शारदादेवी रोकाया १० हजार ६७० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)की रत्‍ना कडायतले नौ हजार ९८३ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्