राजनीतिक संवादको खाँचो



नेपाल–भारतबीच ऊर्जा, शिक्षा र सांस्कृतिक पाटोमा हातेमालो गर्न विभिन्न ६ वटा समझदारी भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६ घन्टे लुम्बिनी भ्रमणका क्रममा नेपालका विभिन्न विश्वविद्यालयको शैक्षिक र अनुसन्धानका पक्षसँग जोडिएका सहमति–समझदारी भएका हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालय, त्रिभुवन र काठमाडौँ विश्वविद्यालयसँग विभिन्न ५ वटा समझदारीपत्रमाा हस्ताक्षर भएको छ ।
भारतीय सहयोगमा अरुण चौथो अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नेबारे दुवै देश सहमत भएका छन् । यही आर्थिक वर्षमा निर्माणको सम्भाव्यता अध्ययन भएको ६९५ मेगावाट क्षमताको आयोजना नेपाल–भारतको साझेदारीमा निर्माण हुनेछ । २५६६औँ बुद्धजयन्तीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन लुम्बिनीमा आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा यस्ता विषयमा सहमति भएका हुन् ।
मोदीको यसपटकको नेपाल यात्रा उनकै शब्दमा ‘राजनीतिक नभएर धार्मिक भ्रमण’ भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण आफ्ना लागि ‘सौभाग्य’ र मायादेवी मन्दिर दर्शन गर्ने अवसर ‘अविस्मरणीय’ रहेको उनको सम्बोधनले बुद्ध जन्मस्थलबारे भारतीय पक्षबाट हुँदै आएको दाबी तोडिएको छ । मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्रीसमेत हुन् । उनको यो धार्मिक यात्रा अनि बुद्ध जयन्तीकै दिनमा व्यावसायिक उडान शुरु र उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रचारमा धेरथोर टेवा पु¥याएको छ । अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै भैरहवा र आसपासका क्षेत्रको आर्थिक कारोबार बढ्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घट्ने विज्ञहरूको तर्क छ ।
त्रिभुवन विमानस्थलमा बढ्दो एयर ट्राफिक चाप र मौसम प्रतिकूल हुँदा नेपाल आउने अन्तर्राष्ट्रिय विमान डाइभर्ट हुने समस्याको धेरथोर समाधान यो विमानस्थलले गर्ने अपेक्षा गरिएको छ । तर, भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई मार्ग स्वीकृति दिन नेपालले पटकपटक आग्रह गर्दा भारतले आनाकानी गर्दै आएको छ । भारत हुँदै नेपाल आउने जहाज सिमरा हुँदै भैरहवा पुग्नुपर्ने व्यावहारिक कठिनाइ हटाउन प्रधानमन्त्री देउवाले मोदीलाई ध्यानाकर्षण गराए पनि प्रस्ट जवाफ आएन ।
मोदीको यसपटकको धार्मिक भ्रमणले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका क्षेत्रको सीमा विवादका विषय ओझेलमा परेका छन् । यसपटक धेरथोर यस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको थियो । तर, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार गरेको प्रतिवेदन, आर्थिक र अन्य राजनीतिक मुद्दाबारे भारतले फेरि पनि थाहा नपाएझैँ गरेको छ । यस्ता विषयमा संवादहीनता नलम्बाइ छिट्टै द्विपक्षीय संयन्त्रका बैठक बोलाइनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्