पाँचथरमा अलैँची जोन विस्तार



पाँचथर : जिल्लाको सिदिन र एकतीनमा २०७३–७४ देखि सुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ। फालेलुङ गाउँपालिकामा पर्ने क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार भएको छ।

अलैँची जोन एकाइ कार्यालयका कृषि अधिकृत प्रकाश विश्वकर्माले पाँच सय ११ हेक्टर जग्गाबाट सुरु गरिएको कार्यक्रम विस्तार गरि १ हजार ६५८ हेक्टर क्षेत्रफलमा पुर्याइएको बताए। आव २०७५–७६ मा ३ लाखभन्दा बढी उन्नत जातका बिरुवा त्यहाँ वितरण गरिएको विश्वकर्माले जानकारी दिए।

क्षेत्र विस्तार गरी उचाइका आधारमा बिरुवा वितरण गरिएको उनको भनाई छ। फालेलुङ गाउँपालिका–२ मा जिर्मले र गोल साई जातको बिरुवा वितरण गरिएको छ। वडा नम्बर १ मा राम साई जातका बिरुवा वितरण गरिएको छ।

यस्तै वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मा राम साई, सेरेम्ना र भार्लाङ जातका बिरुवा वितरण गरिएको विश्वकर्माले बताए। अलैँची उत्पादन वृद्धि गर्न साना सिँचाइ, बिरुवा वितरण, स्प्रिङ्कल, स्प्रेलगायत वितरण गरी उत्पादनमा वृद्धि हुने भन्दै उनले प्रशोधनतर्फ गुणस्तरीय उत्पादन गर्न धुवाँरहित सुधारिएको अलैँची भट्टी वितरण गरिएको बताए।

बजारीकरणलाई लक्ष्य गरी अलैँचीको आन्तरिक खपत वृद्धि गर्न जोन एकाइ कार्यालय, अलैँची जोन कार्यालयले अलैँचीको धुलो, मसला, गरम मसला, गोटा अलैँची, प्याकेजिङ गरी बजारीकरण गर्न विभिन्न कृषक समूहलाई अनुदान उपलब्ध गर्न थालिएको छ। जोन कार्यक्रम विस्तारले अलैँची उत्पादनमा वृद्धि भएको छ। फालेलुङ गाउँपालिकामा अलैँची उत्पादन प्रतिहेक्टर ०.३९३ मेट्रिक टन उत्पादन हुने गरेको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्