शीर्ष नेतृत्वलाई गाउँको दण्ड



काठमाडौं । स्थानीय तह निर्वाचनले केन्द्रीय राजनीतिमा वर्षौंदेखि प्रभावशाली रहेका नेताहरूको ‘ग्राउन्ड’ छर्लङ्ग पारेको छ।
प्रधानमन्त्रीदेखि विपक्षी दलका नेता होऊन् या अन्य दलका धेरै चर्चित नेताहरूले आफ्नो वडामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउन सकेनन्।

निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउन नसक्नुलाई कतिपयले केन्द्रीय राजनीतिमा प्रभावशाली भए पनि स्थानीय तहमा भने ‘प्रभावहीन’ नेताका रूपमा अथ्र्याउने गरेका छन् । निर्वाचनको परिणाम जति सार्वजनिक हुँदै छ, त्यति नै वडामै पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन नसक्ने नेताहरू थपिँदै पनि छन् । वडामै पार्टी उम्मेदवार पराजित भएको प्रधानमन्त्री शेरबहादुर देउवाकै वडा पनि हो । देशको ७५३ वटै स्थानीय तहमा निर्वाचनको नेतृत्व देउवाले नै गरे ।

ठाउँठाउँमा उनका पार्टीका उम्मेदवारहरू निर्वाचित पनि हुँदै छन् । तर, गृहजिल्ला डडेल्धुराको गन्यापुधरा–१, रुवाखोलामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवारले कांग्रेस उम्मेदवारलाई पराजित गरिदिए। ३१ वैशाखमा अन्तिम मत परिणाम सार्वजनिक हुँदा करुवा चुनाव चिह्नका नरेश भण्डारी वडा अध्यक्षमा निर्वाचित भए । देउवाले मतदान गरेका कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत ल्याउँदा भण्डारीले ६७३ मा प्राप्त गरे । १४औँ महाधिवेशनका बेला क्रियाशील सदस्यतालाई लिएर उत्पन्न विवादका कारण वडादेखि जिल्ला तहसम्मै अधिवेशन बहिष्कार गरेका नेता कर्ण मल्ल नेपाली कांग्रेस (बीपी)मा आबद्ध हुँदा भण्डारी पनि सँगै उक्त पार्टीमा गएका थिए।

उनै भण्डारीले एमालेसँगको तालमेलमा देउवा नेतृत्वको कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन्। निर्वाचनको उक्त परिणामअनुसार एकातिर कांग्रेसका उम्मेदवार त पराजित भए नै, अर्कातिर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापतिको ‘स्थानीय प्रभाव’ पनि छर्लङ्ग पारेको छ। देउवा मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा एमाले ‘क्लिन स्विप’ भएको छ। निर्वाचन अधिकृतको कार्यालय सूर्यविनायकले जनाएअनुसार कांग्रेसका प्रदीप कार्की नेतृत्वको प्यानलै निर्वाचित हुँदा एमालेका विश्वराज विष्टको प्यानलै पराजित भएको छ।

एमाले कार्यकर्ताले ‘राजनेता’ मान्दैै आएका ओलीले मतदान गरेको वडामा निर्वाचनबाट एमाले शून्य भयो । कांग्रेसको भने दबदबा कायम भएको छ । २०७४ मा ३ चरणमा भएको निर्वाचनबाट भने ओली नेतृत्वको एमाले पहिलो दल बनेको थियो । यस पटक दोस्रो दल हुने छाँट देखाउँदा ओलीले मतदान गरेको वडामै एमालेले पराजय बेहोर्नुपरेको हो । देउवा र ओलीसँगै राष्ट्रिय राजनीतिमा अर्का प्रभावशाली नेता छन्, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। १० वर्षे सशस्त्र विद्रोहको नेतृत्वकर्तादेखि विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्तासँगै देश माओवादीकै एजेन्डामा चलेको दाबी गर्ने प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा पार्टीलाई जिताउन सकेनन्।

त्यहाँ एमाले–राप्रपा गठबन्धनले निर्वाचन जित्यो । प्रमुखमा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी हुन्। प्रचण्डले कांग्रेस र आफू नेतृवको माओवादी रहेको गठबन्धनका ऋषि काफ्लेलाई निर्वाचन जिताउन नसकेका हुन्। निर्वाचन जिताउन नसक्नुले प्रचण्डको पनि धरातल कस्तो छ ? अनुमान गर्न सहज भएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मतदान गरेको इलामको सूर्योदय नगरपालिका–१ मा पनि आफ्नै पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन सकेनन् ।

निर्वाचनको यो परिणामसँगै खनालले मतदान गरेको वडा सरकारमा उनको पार्टी प्रतिनिधि शून्य हुने भएको छ । गायत्रीराम बस्नेत नेतृत्वको वडामा उनीसहित अब कांग्रेसका २ र एमालेका २ प्रतिनिधि हुनेछन् । निर्वाचनको परिणामले खनालको पनि आफ्नो वडामा प्रभाव कस्तो छ ? प्रस्ट्याएको छ। सभामुख हुँदा चर्चित बनेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मतदान गरेको इलाम नगरपालिकामा ३० वर्षपछि कांग्रेसका केशव थापा प्रमुख र विष्णु दाहाल लिम्बू उपप्रमुखमा निर्वाचित भएका छन् । उनीहरूबाट एमालेका धिरेन चेम्जोङ प्रमुख र सीता रिजाल उपप्रमुख पदमा पराजित भए । २०४९, २०५४ र २०७४ सालमा भने लगातार एमाले उम्मेदवारहरू निर्वाचित भएका थिए । तर, यस पटक भने नेम्बाङको गृहनगर इलाम नगरपालिका प्रमुख÷उपप्रमुख एमालेले गुमायो। निर्वाचन परिणामले शालीन ढङ्गले तार्किक विचार राखेर राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको ‘ग्राउन्ड’ पनि स्पष्ट पारेको छ।

मधेसको एजेन्डाले राष्ट्रिय राजनीतिमा स्थापित राजेन्द्र महतोले पनि आफ्नो वडामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारलाई जिताउन सकेनन्। उनको मतदाता नामावली रहेको धनुषाको चन्द्रनगर गाउँपालिका–२ मा कांग्रेसका शम्भुप्रसाद शाह तेलीले महतोको पार्टी लोसपाका उम्मेदवार कामेश्वर साह तेलीलाई पराजित गरेका हुन् ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्री, कांग्रेस महामन्त्री गगन थापा, एमाले सचिव पद्मा अर्याल, माओवादी नेता गिरिराजमणि पोखरेललगायतले पनि स्थानीय तहमा पार्टीका उम्मेदवारलाई जिताउन सकेनन्। र, स्थानीय निर्वाचनको परिणामले केन्द्रीय राजनीतिमा स्थापित भएका धेरै नेताहरू आफ्नै स्थानीय क्षेत्रमा भने पनि प्रभावशाली छैनन् भन्ने देखाएको छ। दलका केन्द्रीय नेता निर्वाचनका बेला मात्र आफ्नो क्षेत्र पुग्ने र स्थानीयसँग अन्तक्र्रियासमेत नगर्ने गरेका कारण छिमेकी मतदाता रिसाएका विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्