पेट्रोलियम पदार्थमा २५ प्रतिशत मूल्य बढ्दा सवारी भाडामा ५४ प्रतिशत वृद्धि



काठमाडौं । सरकारले सवारी साधनको भाडादर अस्वाभाविक रूपमा वृद्धि गरेको छ। अस्वाभाविक मूल्य वृद्धि हुँदा सर्वसाधारण मर्कामा परेका छन्। पेट्रोलियम पदार्थको मूल्य २५ प्रतिशतले वृद्धि हुँदा सरकारले सवारी साधनको भाडा ५४ प्रतिशतले वृद्धि गरेको छ।

२७ असारमा यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गर्दै लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो। विभागले २९ असारदेखि लागू हुनेगरी भाडा २८ प्रतिशतले वृद्धि गरेको थियो। सरकारले सो भाडा वृद्धि गर्दा पेट्रोलको प्रतिलिटर १३६ रुपैयाँ थियो भने डिजेल ११९ रुपैयाँ थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ छ भने डिजेलको प्रतिलिटर १५३ रुपैयाँ छ।

सरकारले पहिलो पटक सवारी साधनको भाडा बढाएको मूल्य र पछिल्लो पटकको मूल्य तुलना गर्दा पेट्रोलियम पदार्थको मूल्य २५ प्रतिशतले वृद्धि भएको छ। २९ असारदेखि हालसम्म सरकारले ३ पटक गरी ५४ प्रतिशतले सवारी साधनको भाडा बढाएको छ। विभागले पहिलो पटक २९ असारमा, २० चैतमा अनि ३ जेठमा बढाएको भाडादर जोड्दा ५३ दशमलब ५६ प्रतिशत पुगेको छ। विभागले यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत भाडा बढाएको थियो भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो।

२७ असारमा यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गर्दै लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । सो समयमा विभागले यसअघि सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेकामा पछिल्लो पटक त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडा वृद्धि गरिएको विभागले जनाएको थियो।

विभागले लामो दूरीको सवारी भाडा समायोजन गर्ने क्रममा विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको र भाडा निर्धारणका अन्य सूचकलाई २०७२ सालदेखि यथावत् राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिएको तथा २०७५ सालमा समेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडा वृद्धि गरी समायोजन गरिएको जनाएको थियो। यस्तै, विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकाले वैज्ञानिक भाडादर लागू हुन नसकेको जनाइएको थियो।

२ महिना नपुग्दै फेरि सरकारले ३ देखि ५ प्रतिशत सवारी साधनको भाडा बढाएको छ। यातायात व्यवस्था विभागलले बुधबारदेखि लागू हुनेगरी ३ दशमलब ५ प्रतिशतदेखि ५ दशमलब १ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३ दशमलब ५ प्रतिशत बढाइएको छ । यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ४ दशमलब ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ५ दशमलब १ प्रतिशतले बढाइएको छ।

दोस्रो पटक सरकारले २० चैतमा १५ प्रतिशतसम्म सवारीको भाडादर वृद्धि गरेको थियो। २० चैतमा विभागले एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडादर १० प्रतिशतले वृद्धि गरेको थियो भने पहाडी बाटोमा चल्ने मालवाहक सवारी साधनको भाडादर १३ प्रतिशतले वृद्धि गरेको थियो। यस्तै, तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले वृद्धि गरेको थियो।

३२ दशमलब ६९ प्रतिशतले वृद्धि भएर २ चैतमा डिजेल १३८ रुपैयाँ प्रतिलिटर पुगेपछि विभागबाट गठित भाडा समायोजनसम्बन्धी समितिले सार्वजनिक यातायात सेवा सञ्चालनको कुल लागतमा इन्धन खर्चको विभागबाट गठित भाडा आधारमा भाडामा हुनुपर्ने समायोजनका सम्बन्धमा प्रतिवेदन पेस गरेको थियो। उक्त प्रतिवेदनमा गरिएको सिफारिसअनुसार भाडा समायोजनका लागि विभागले गरेको प्रस्तावमा १७ चैतको मन्त्रीस्तरीय निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमतिसमेतका आधारमा र संविधानको अनुसूची ५ बमोजिम भाडा समायोजन गरेको विभागले जनाएको थियो।

विभागले पछिल्लो समय भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी हुँदा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सवारी साधनको भाडा वृद्धि गरेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

उनले चैतयता सवारी साधनको भाडा १९ प्रतिशतले बढेको बताए। उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सवारी साधनको भाडा वृद्धि गर्ने र पेट्रोलियम पदार्थको मूल्य घट्दा स्वचालित रूपमा नै सवारी साधनको भाडा घट्ने बताए। स्वचालित मूल्यअनुसार व्यवसायीले भाडा नघटाए कारबाही हुने महानिर्देशक घिमिरेले जानकारी दिए।

महानिर्देशक घिमिरेले पछिल्लो पटक पेट्रोलियम पदार्थको १० दशमलब ८६ प्रतिशतले मूल्य वृद्धि हुँदा स्वचालित मूल्य प्रणालीअनुसार यात्रुवाहक सवारीको भाडा ३ दशमलब ५ प्रतिशत, पहाडमा सञ्चालन हुने सवारीको ४ दशमलब ६ प्रतिशत र तराईमा सञ्चालन हुने सवारीको ५ दशमलब १ प्रतिशतले भाडा वृद्धि गरेको बताए।

प्रतिक्रिया दिनुहोस्