२ सय ५६ स्थानमा कांग्रेसको जित, एमालेले गरेन हार स्वीकार



काठमाडौं । गत बैशाख ३० गते देशभर एकैसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्मको मत परिणाम अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ५८३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।

यो समाचार तयार पार्दासम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २ सय ५६ स्थानमा जित निकाल्दै फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो ।

यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा भने यो पटक खस्किएको छ । नतिजाअनुसार एमालेले १६५ स्थानीय तह जितेको छ । एमालेले भन्दा काँग्रेसले ९१ पालिका बढी जितेको छ ।

कांग्रेसले देशभरमा अग्रता बनाइरहँदा पनि नेकपा एमालले भने निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएको छ । आज सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको जनमत यथावत् रहेको बताउँदै अन्य पार्टीसँग थोरै मत अन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुले पराजय भोगेको टिप्पणी गरेका छन् ।

मतपरिणाम अनुसार दोस्रो भएको एमालेले आफु नै पहिलो शक्ति भनेर दाबी गरिरहँदा हार स्वीकार गर्न नसकेको आरोप लाग्ने गरेको छ । अहिलेको मत परिणम हेर्ने हो भने नेकपा माओवादी केन्द्रले एमालेलाइ पछ्याइरहेको छ । गत स्थानीय तहको निर्वाचनमा १०६ स्थानमा जित निकालेको माओवादीले यो पटकको निर्वाचनमा भने जनमतमा केही सुधार गरेको देखिएको छ । झण्डै ८० प्रतिशत मत गणना हुँदा माओवादीले १०६ स्थानमा जित हात पार्दा १३ स्थानमा भने अग्रता बनाइरहेको छ । पाँच दलीय गठबन्धनमा आवद्ध भई चुनावमा होमिएको माओवादीले गठबन्ध सफल भएको बताएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आंशिक कमीकमजोरी भएपनि निर्वाचनमा गठबन्धन सफल भएको बताए।

उनले संविधान र राजनीतिक प्रणाली अझै पनि खतरामा रहेको भन्दै नेकपा माओवादी केन्द्र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको समेत बताएका छन् । तर, यता सत्ता गठबन्धनको अर्को घटक जसपा भने सन्तुष्ट छैन । पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस र माअ‍ेवादीले तालमेल गरेर लाभ लिएको आरोप लगाएका छन् ।

यता एमालेसँग विभाजित भइ यो पटक स्थानीय तह निर्वाचनमा कांग्रेस माओवादी लागयतका पाँच दलसँगको गठबन्धनमा चुनावमा होमिएको नेकपा एकिकृत समाजवादी पनि असन्तुष्ट छ । अहिलेसम्म १३ स्थानमा मात्र जित्न सफल भएको एकिकृत समाजवादीले ६ ठाउँमा अग्रता लिएको छ । सबै स्थानीय तहको मतपरिणम सार्वजनिक हुन नपाउदैँ सो पार्टीले गठबन्धन सफल नभएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्