महोत्तरीमा थप तीन तहको नतिजा आयो, कहाँ कसले जिते ?



महोत्तरी । महोत्तरीमा थप तीन स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो समय बर्दिबास र औरही नगरपालिका तथा सम्सी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

बर्दिबासमा राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। प्रमुखमा प्रल्हादकुमार क्षत्री र उपप्रमुखमा तारादेवी महतो निर्वाचित भएका हुन् । क्षत्रीले १४ हजार २१० र महतोले नौ हजार ७३६ मत प्राप्त गरे । उनीहरुका निकटतम् प्रतिस्पर्धी प्रमुख पदका नेकपा (माओवादी केन्द्र) का राजु खड्काले आठ हजार ३२३ तथा उपप्रमुखमा सोही दलका कृष्णमायाँ गौतमले ८१८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए। स्वतन्त्र समूहले नै तीन वडाध्यक्षसमेत जितेको छ ।

यसैगरी औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रमुख र उपप्रमुखमा विजयी भएको छ। प्रमुखमा प्रदीपकुमार खड्काले ६ हजार ८७ र उपप्रमुखमा रेणु झाले पाँच हजार ८०८ मत प्राप्त गरेका छन् । उनीहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सुनिलकुमार यादवले पाँच हजार ७४७ र उपप्रमुखमा रेखा यादवले पाँच हजार ६०५ मत प्राप्त गरे। यस्तै सम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ। अध्यक्षमा रामनाथ यादवले तीन हजार ८९३ र उपाध्यक्षमा अनिताकुमारीले तीन हजार २९५ मत प्राप्त गरे।

उनीहरुका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार उत्तिमलाल यादवले दुई हजार ५८२ र उपाध्यक्षमा उर्मिला देवीले दुई हजार ६८२ मत प्राप्त गरे । मत परिणाम घोषणा भएका स्थानीय तहको सङ्ख्या नौ पुगेको छ । यसअघि मटिहानी, रामगोपालपुर र मनराशिश्वा नगरपालिका तथा महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अझै ६ स्थानीय तहको परिणाम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्