स्थानीय चुनाव- कांग्रेस पहिलो, एमालेले गुमायो २५ वर्षे विरासत



काठमाडौं । स्थानीय तह निर्वाचनको ८० प्रतिशत भन्दा बढी मत परिणाम सार्वजनिक हुँदै गर्दा सबै महानगर र उपमहानगरको मतगणना सुस्त भएको छ। निर्वाचन समापन भएको ८ दिनमा बिहीबार १० बजेसम्म सार्वजनिक भएको नतिजाअनुसार नेपाली कांग्रेसले २६४ प्रमुख/अध्यक्षको प्रमुख पाएको छ। अन्य दलहरूलाई पछि पार्दै कांग्रेसका २४५ उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् ।

अहिले गणनामा अग्रस्थानमा रहँदै गर्दा कांग्रेसको यो सफलता २०७४ को भन्दा धेरै हो। ५ वर्षअघिको स्थानीय तहको निर्वाचनमा २६६ पालिका कांग्रेसले नेतृत्व पाएको थियो। अहिलेको निर्वाचनको मत गणना जारी रहँदा थप कांग्रेसका उम्मेदवारले थप ६० पालिकामा अग्रता लिइरहेका छन् । थप ५५ पालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् । २०७४को निर्वाचनमा सबै भन्दा बढी स्थानीय तह जितेर पहिलो पार्टी भएको नेकपा एमाले यसपटक दोस्रो स्थानमा खुम्चिने भएको छ।

अघिल्लो निर्वाचनमको तुलनामा एमालेले करिब ९५ स्थानीय तह गुमाउने सम्भावना देखिएको छ । मतगणना जारी रहँदा एमालेका १६७ पालिका प्रमुख/अध्यक्ष र १८२ उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा एमालेले २९४ पालिका प्रमुख/अध्यक्ष पाएको थियो । निर्वाचन अघि एमालेले पहिले भन्दा धेरै पालिकामा आफ्ना उम्मेदवार नेतृत्वमा आउने दाबी गरेकोमा सत्ता गठबन्धन दलहरू तालमेल गरेर निर्वाचनमा जाँदा एमालेले पकट क्षेत्र दाबी गर्दै आएका पालिका गुमाएको छ।

संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निर्वाचन गृह जिल्ला इलाम नगरपालिकामा अधिकांश वडासहित कांग्रेसका प्रमुख/उपप्रमुख निर्वाचित भएका छन् । त्यहाँ कांग्रेसलाई २५ वर्षपछि यस्तो सफलता मिलेको हो । अघिल्लो निर्वाचनमा काठमाडौं र पोखरा महानगरमा आफ्ना प्रतिस्पर्धीलाई निकै पछि पारेको एमाले यसपटक पराजय व्यहोर्ने सम्भावना देखिएको छ । २०७४मा ३२६ मतले पराजित भएका एमालेमा प्रमुखका उम्मेदवार यसपटक धेरै मतअन्तरले पछि पर्ने प्रक्षेपण गर्न थालिएको छ । गठबन्धनको ठूलो फाइदा कांग्रेसले लिएको र आफूहरूलाई कांग्रेसबाट सहयोग नभएको सत्तारुढ दलहरूको आरोप छ।

नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरू संसद् र अन्य सार्वजनिक कार्यक्रमहरूमा कांग्रेसबाट आफ्नो दललाई सहयोग नमिलेको अभिव्यक्ति दिइरहेका छन्। मदन–आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव नेपालले भने, ‘गठबन्धनले निरन्तरता पाउने/नपाउने समीक्षा पक्कै पनि हुने छ, हामीले यो निर्वाचनको सूक्ष्म विश्लेषण गर्ने छौ, हामीलाई कांग्रेस–माओवादीबाट धोका पाएको महसुस भएको छ।’ यो पार्टीका अन्य शीर्ष नेताहरूले पनि यस्तै अभिव्यक्ति दोहोर्‍याइरहेको छन्। बिहीबार अबेरसम्मको नतिजाअनुसार नेकपा एसले १४ पालिका प्रमुख/अध्यक्ष र १८ पालिका उपप्रमुख र उपाध्यक्ष पाएको छ।

निर्वाचनअघि आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध कायम राख्ने अडानमा रहेको एमाले निर्वाचन परिणामले यस्तो अडानमा लचक भएको छ । निर्वाचन परिणामले अपेक्षाकृत नतिजा भन्दा तल झरेपछि एमालेकै नेताहरू वाम ध्रुवीकरणको आवश्यकता औल्याउन थालेका छन् । जनआकांक्षा विपरीत टिकट वितरण गरिएको, अन्य पार्टीबाट एमालेमा समाहित भएकाहरूलाई अवसर दिइएको, वर्षौसम्म पार्टीकै काम र संगठनमा आवद्ध भएकालाई पाखा लगाइएका जस्ता कारणले आफ्ना उम्मेदवार पछि परेका एमालेबाटै विश्लेषण हुन थालेको छ।

तत्कालीन नेकपाबाट विभाजन हुँदा ठूलो क्षति व्यहोर्ने अनुमान गरिएको माओवादी केन्द्रले यो निर्वाचनमा तुलनात्मक रूपमा बढी लाभ लिएको छ । मत गणना जारी रहँदा माओवादीले १०६ पालिका प्रमुख/अध्यक्ष पाएको छ। त्यसैगरी १५५ उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । पार्टी संगठनमा तुलानात्मक रूपमा नेकपा एस भन्दा बलियो दाबी गर्ने गठबन्धनभित्रको जनता समाजवादी पार्टी (जसपा) उसको अपेक्षा भन्दा तल खुम्चिएको छ। संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा जसपाले कुनै पनि पालिका प्रमुख/उपप्रमुखमा नेतृत्व पाउन सकेन। १६ पालिका प्रमुख/अध्यक्षमा जसपाका उम्मेदवारहरू विजयी हुँदै गर्दा १५ पालिकामा उप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन्।

गठबन्धन भित्रैको राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू प्यूठान, अर्घाखाँची, बाग्लुङ लगायत जिल्लाका केही स्थानीय तहमा निर्वाचित भएका छन्। गत मंसिरमा महाधिवेशन पछि पार्टी नेतृत्व राजेन्द्र लिङदेनले लिएपछि निकै चर्चामा आएको राष्ट्रिय प्रजातन्त्र पार्टी यो निर्वाचनमा पार्टी नेतृत्व र उसका शुभेच्छुकहरूको अनुनमान भन्दा अघि बढ्न सकेको छैन।झापाको हल्दिबारी नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिकामा प्रमुख र उपप्रमुखमा राप्रपाका उम्मेदवार विजयी हुँदै गर्दा यो पार्टीको गढ मानिएको झापाको कचनकवलमा यसपटक कांग्रेस–एमाले गठबन्धनले फुत्काएका छन्।

शंखरापुरको सफलतालाई ऐतिहासिक मानेको राप्रपाले झापाको भद्रपुर र पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा उपप्रमुख पाएको छ। कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा प्रमुखमा निर्वाचित भएका छन् । मत गणना जारी रहँदा राप्रपाका ६० भन्दा बढी वडाध्यक्ष र ३५० भन्दा बढी वडा सदस्य निर्वाचित भएका छन् । झापाको दमक, हेटौडा उपमहानगर र अन्य नगरको नेतृत्वमा आफ्ना उम्मेदवार विजयी हुने राप्रपा नेतृत्वको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्