गण्डकीका २१ पालिका प्रमुख : जो दोहोरिएर चुनाव लड्दा पराजित भए



पोखरा । गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएका थिए भने १९ जना उपप्रमुखले दोहोर्‍याएर मनोनयन दिएका थिए । बाँकी २० जनाले प्रमुखमा चुनाव जितेका छन् भने एकजनाको मतगणना भइरहेको छ ।

गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पालुङटारका मेयर दिपकबाबु कँडेल, चुमनुब्रीका अध्यक्ष धनबहादुर गुरुङ, धार्चेका अध्यक्ष सन्तबहादुर गुरुङ पराजित भए । लमजुङको राइनास नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका सिहंबहादुर थापा पराजित भए ।

कास्कीको अन्नपूर्णका अध्यक्ष युवराज कुँवर हारेका छन् । उता स्याङजाको पुतलीबजार नगरपालिका मेयर सीमा क्षेत्री र वालिङ नगरपालिका प्रमुख दीलिपप्रताप खाँडले पनि चुनाव जित्न सकेनन् । पर्वत फलेवास नगरपालिका मेयर पदमपाणी शर्माले चुनाव जितेनन् ।

बागलुङ नगरपालिका मेयर जनक पौडेल हारे भने ताराखोलाका अध्यक्ष प्रकाश घर्ती स्वतन्त्र उठेर चुनाव हारेका छन् । उनले पार्टीबाट टिकट मागेका थिए । तर, पार्टीले नदिएपछि उनी बागी उठेका हुन् । त्यहाँ माओवादीकै उम्मेद्वारले चुनाव जितेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्षमा थमसरा पुन पराजति भइन् भने मालिका गाउँपालिकामा श्रीप्रसाद रोका हारेका छन् ।

तनहुँको म्याग्देमा माया राना, देवघाटमा दुर्गबहादुर थापा, आँबुखैरेनीमा गीरबहादुर थापा तथा बन्दीपुरको अध्यक्षमा पूर्णसिंह थापा पराजित भए । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा डम्बरबहादुर जिसी पराजित हुँदा गैंडाकोटमा छत्रराज पौडेल पनि हारेका छन् । यस्तै, बुलिङटार गाउँपालिका अध्यक्षमा शशिकुमार बस्ताकोटी दोस्रो पटक उठ्दा पराजित भए ।

२० जनाले दोस्रो कार्यकालका लागि पनि प्रमुखमा चुनाव जितेका छन् । लमजुङको मर्स्याङ्दीका अध्यक्ष अर्जुन गुरुङ, बेंशिसहरका मेयर गुमानसिंह अर्याल र मध्येनेपालका मेयर रमेशबाबु पाण्डे विजयी भएका छन् । गोरखाबाट शहिद लखनको अध्यक्षमा रमेशबाबु थापा र बारपाक सुलिकोटको अध्यक्षमा दोहोरिएका विष्णु भट्ट भने दोस्रो पटक पनि निर्वाचित भएका छन् । मनाङको चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले तथा मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले दोहोर्‍याएर अध्यक्षमा निर्वाचित भएका छन् ।

कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझाले दोहोर्‍याएर जिते । स्याङजाको हरिनास अध्यक्षमा खीमनारायण मानन्धर दोहोरिए भने कालिगण्डकी अध्यक्षमा खीम थापा र फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी दोहोरिएका छन् । पर्वत कुश्माका मेयर रामचन्द्र जोशी दोहोरिए । बागलुङको तमानखोलामा जोकलाल बुढा र ढोरपाटनमा देवकुमार नेपालीले पुनः चुनाव जितेका छन् । गलकोटका मेयर भरत शर्मा गैह्रेलाई दोहोर्‍याएकोमा उनी निर्वाचित भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारीले दोस्रो पटक पनि बाजी मारे भने मंगलामा सतप्रसाद रोकाले चुनाव जितेका छन् । मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट ९राजु० पुनः निर्वाचित भए । तनहुँको ऋषिङमा राजेन्द्र कृष्ण श्रेष्ठ दोस्रो पटक निर्वाचित भए । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा लक्ष्मीदेवी पाण्डे विजयी भएकी छिन् ।

कांग्रेसले २६ जनालाई दोहोर्‍याएको थियो भने एक जनालाई उपाध्यक्षबाट अध्यक्षमा बढोत्तरी गरेर उठाएको थियो । थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचनलाई अध्यक्ष उठाए पनि उनी पराजित भएकी छिन् । अर्जुनचौपारीकी बहालवाला उपाध्यक्ष चिनमाया गुरुङलाई पनि एमालेले अध्यक्षमा उठाइएकोमा उनी पराजित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्