पर्दाबाट चम्किए, पालिकातिर लम्किए



काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा परिणामले नेता तथा कार्यकर्तालाई खुसीसँगै पीडा पनि दियो। कोही विजय बने त कोही पराजित भए । तर यसपटकको निर्वाचन नेपाली कला क्षेत्रमा सक्रिय केही अनुहारका लागि पनि विशेष रह्यो।

गाउँपालिका र वडामा अध्यक्षदेखि सदस्य पदमा उम्मेदवारी दिएका उनीहरूले सफलताको स्वाद चाखे । अमेरिकाको न्यूयोर्कमा १८ वर्षसम्म बसेका गायक गम्बु शेर्पाले जनता समाजवादी पार्टीबाट ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिए । उम्मेदवारी दिनकै लागि अमेरिकाको नागरिकता त्यागेर नेपाल आई नेपाली नागरिकता र मतदाता परिचयपत्र बनाएर उम्मेदवारी दिएका उनले विजयको माला नै लगाउने मौका पाए ।

‘राजनीतिप्रति मेरो सानैदेखिको रुचि हो । गीतसङ्गीतचाहिँ सोख हो । म आफ्ना गीतसङ्गीतमा गाउँका कुरालाई समेट्छु’, गम्बु भन्छन्, ‘म १९९७ मा नै यातायात महासङ्घको सचिवमा विजयी भइसकेको छु । त्यसकारण नयाँपुस्ताका लागि म राजनीतिमा नयाँजस्तो देखिए पनि म पुरानै मान्छे हुँ ।’ आफू व्यावसायिक गायक भए पनि अबको जिम्मेवारी गाउँको विकास रहेको उनको बुझाइ छ । ‘म बसेको ठाउँमा बाटोको दुःख छ । कृषकले फलाएको खानेकुरालाई सजिलै बजारमा पुर्‍याउन समस्या छ । त्यसकारण मेरो पहिलो प्राथमिकता सडकको हुनेछ । सँगै कृषि पर्यटनलाई पनि अगाडि बढाउनेछु’, गम्बुले भने । गम्बुले आगामी दिनमा आफूलाई सुहाउँदो गीत आएमा रेकर्ड गराए पनि स्टेजमा चढेर गीत भने नगाउने योजना बनाएका छन् ।

‘सङ्गीतको माध्यमबाट यहाँका प्रतिभालाई देश विदेशमा चिनाउने योजना पनि छ’, उनी भन्छन् । गम्बुले हालसम्म १३ वटा एल्बम बजारमा ल्याइसकेका छन् भने २०० भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । झन्डै ३०० बढी गीत लेखिसकेका गीतकार महेन्द्रदीप राई नेपाली कांग्रेसका तर्फबाट सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा निर्वाचित भए। २०५७ सालदेखि नै गीत, कविता लेखनमा सक्रिय राई सुरुवाती समयदेखि नै काग्रेसको राजनीतिमा थिए । विद्यार्थी सङ्गठनबाट उदाएका महेन्द्रदीपले विद्यार्थी सङ्गठनको जिल्ला अध्यक्ष हुँदै तत्कालीन गाविस सचिव, सभापति र पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिको अनुभव पनि सङ्गालिसकेका छन् । ‘मलाई पहिलेदेखि नै गीत र कविता लेखनमा रुचि थियो ।

सँगै राजनीतिक रुचि छँदै थियो । मैले गीतकार सङ्घमार्फत पनि प्रदेश १ मा विभिन्न कार्यक्रम गरिसकेको छु’, महेन्द्रदीप भन्छन्, ‘मैले आफ्नो घोषणापत्रमा कला, साहित्य, सङ्गीत, संस्कृति क्षेत्रमा काम गर्ने योजना बनाएको छु । हाम्रो पूर्वेली लोकदर्शन, लोक साहित्य गीतदेखि लिएर आधुनिक कला संस्कृति छन् । ठूला–साना प्रतियोगितामार्फत पनि नयाँ प्रतिभा खोज्न ध्यान दिनेछु । गीत सङ्गीतसम्बन्धी ठोस कार्यक्रमहरू माथिल्लो निकायका प्रतिनिधिसँग तथा सांस्कृतिक सङ्घमार्फत गर्ने योजना पनि छ ।’ महेन्द्रका ‘याद यति’, ‘सत्य सानु’ र ‘पूर्वेली थिती’लगायतका गीत लोकप्रिय छन् । फिल्म ‘चपली हाइट’का अभिनेता तथा म्युजिक भिडियोका मोडल राज घिमिरे ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । उनले ५ वर्षे कार्यकालका लागि ८४ बुँदे घोषणापत्र बनाएका छन् ।

जहाँ स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारी, खेलकुदको विकाससँगै कलाकार, पत्रकार र खेलाडीलाई सम्मान गर्ने योजना समेटिएका छन् । ‘गोदावरी पहिलेदेखि नै आफैमा खुला सुटिङस्पट हो । हामीले आफ्नो कार्ययोजनामा भएका सुटिङ स्पटको विकाससँगै नयाँ सम्भावित स्थानको पहिचानको योजना बनाएका छौं’, राज भन्छन् । राजले ‘चपली हाइट’, ‘भिजिलान्ते’सहित केही फिल्म र म्युजिक भिडियोमा अभिनय गरेका छन् । टेलिभिजन र फिल्मी अभिनयमा देखिने कलाकार किशोर भण्डारी ‘डिट्ठा सा’ब’ तारकेश्वर नगरपालिकाको वडा– २ मा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भइसकेका छन् । साताको ५ दिन वडामा र बाँकी २ दिन कलाकारितामा समय दिने योजना बनाएका किशोरले मनोरञ्जन विधाको लागि नगरले योजना बनाउने भएकाले तत्कालका लागि यो नै गर्ने निश्चित नभएको बताए।

‘नगरले वार्षिक कार्ययोजना बनाउने हुनाले अहिले नै मैले यही गरिन्छ भन्न मिल्दैन’, किशोर भन्छन्, ‘नगरले मलाई मनोरञ्जन विभागको जिम्मा दिने कुरा भइरहेको छ । हामी कला क्षेत्रको विकासमा काम गर्ने योजनामा छौँ । तर केके गर्ने भन्ने अहिले निश्चित भइसकेको छैन ।’ किशोर ‘डिट्ठा सा’ब’, ‘हर्के हवल्दार’बाट चिनिएका कलाकार हुन् । उनी फिल्म ‘चङ्गा’का निर्माता तथा निर्देशक पनि हुन् । ‘खबरदार’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘इच्छा’ जस्ता फिल्मका निर्देशक मुनाल घिमिरे नेकपा एमालेबाट घोराही उपमहानगरपालिका वडा नं. ४ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनी आगामी ५ वर्षका लागि कलाकारितालाई पूर्ण रूपमा छोडेको बताउँछन् । ‘कोरोनाका कारण फिल्म क्षेत्रलाई ठूलो असर पर्‍यो । जसकारण फिल्म र कलाकारिताको काम गर्न सकिएन । अहिले कोरोना कम भए पनि राजनीतिमा आएपछि पुनः कलाकारितामा जोडिन सम्भव भएन’, उनी भन्छन्, ‘कलाकारिताकै व्यक्ति भएका कारण मैले कलाकारिताभन्दा पनि संस्कृति उत्थानलाई प्राथमिकतामा राखेको छु ।’ मुनालले टेलिफिल्म ‘अपराजिता’, ‘यातना’, ‘पर्खाल’, ‘अचानक’ र ‘तितो सत्य’मा अभिनय गरेका छन् ।

फिल्म ‘राज्जा रानी’लाई मैथिली भाषामा डब गराएर प्रदर्शन गराएका निर्माता राजकुमार महतो नेपाली कांग्रेसका तर्फबाट सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । १५ वर्षदेखि सामाजिक कार्यमा संलग्न महतो मधेसमा मुसहरलगायत पिछडिएको समुदायको उत्थानका निम्ति भोर संस्थामार्फतका काम गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्