तिम्बुङ पोखरी अतिक्रमण भएको भन्दै विरोध



पाँचथर : पाँचथरका विभिन्न संघसंस्थाले तिम्बुङ पोखरी सांस्कृतिक तथा जैविक अतिक्रमण गरिएको भन्दै विरोध जनाएका छन्।

पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा पर्ने उक्त पोखरीको नाम परिवर्तन गर्ने उद्देश्यका साथ मन्दिर निर्माण गरिएको भन्दै ती संस्थाले विरोध जनाएका हुन्। 

तिम्बुङ पोखरीलाई प्राकृतिक र जैविकरुपमा रहन दिनुपर्ने भए पनि मन्दिर निर्माणका क्रममा कङ्क्रिट प्रयोग गरिनाले यहाँको जैविक विविधतामा समस्या आउने दाबी गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खालगायतका जातीय तथा सामाजिक संघसंस्थाले अतिक्रमण रोक्न मागसमेत गरेका छन्।

पर्यटन प्रवर्द्धनका लागि यहाँका रैथाने परम्परा, ज्ञान, संस्कृतिको प्रयोग गर्दै पर्यावरणमा सन्तुलन कायम राखेर पूर्वाधार निर्माणका कार्य अघि बढाइनुपर्ने यहाँ १८ संस्थाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

संघसंस्थाले किराँत सभ्यता र संस्कृतिमाथि खलल पर्ने कार्य नगर्न, सबै सरोकारवालासँगको समन्वयमा मात्रै निर्माणका कार्य अघि बढाउन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्