जिसस प्रमुख दावेदार श्रेष्ठ वडा सदस्यमै पराजित



हेटौंडा । जिल्ला समन्वय समिति प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्य पदमा चुनाव उठेका हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पराजित भएका छन् ।

एक कार्यकाल वडाध्यक्ष भैसकेका श्रेष्ठ यस पटक समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडा सदस्यमा उठेका थिए । उनलाई गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का उम्मेदवार गोरख रायले हराएका हुन् ।

नेकपा एमाले मकवानपुरका सचिवालयसदस्यसमेत रहेका उनी वडा सदस्यमै पराजित भएका हुन् । रायले २ हजार १२० मत पाउँदा श्रेष्ठले १ हजार ९४१ मत ल्याएका थिए । श्रेष्ठसँगै जिसस प्रमुखका अर्का आकांक्षी देवराज रिमाज पनि वडामै पराजित भएका छन् ।

रिमाल भने ७ नम्बर वडाबाट सदस्यमा चुनाव उठेका थिए । योसँगै हेटौंडा उपमहानगरपालिका–८ मा एमालेको लामो समयदेखिको एकाधिकार तोडिएको छ । वडाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका नेता राम थापा विजयी भएका छन् ।

एमालेका बोलबहादुर कार्कीलाई हराउँदै थापा विजयी भएका हुन् । थापाले २ हजार २१३ मत प्राप्त गर्दा कार्कीले १ हजार ९६८ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्