अरिङ्गालकाे विराेधपछि मौरी बन्न कार्यकर्तालार्इ प्रम ओलीको निर्देशन



काठमाडौँ : पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।

गत भदौ ३० गते नेकपाका नेता पोष्टबहादुर बोगटीको स्मृति दिवस आयोजित कार्यक्रममा सरकारमाथि चौतर्फि आक्रमण भएको भन्दै आक्रमणकारी विरुद्ध अरिंगाल बनेर जाइलाग्न निर्देशन दिएका प्रधानमन्त्री ओलीले बाेली फेरेर पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन्  ।

वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस् । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन ।”

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाए । “आफ्ना आग्रह, पूर्वाग्रह छाडौँ, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताए ।

“वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन” प्रधानमन्त्री ओलीले भने “फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन । ”

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमा मात्र हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्