सरकारले म्यूजिक भिडियो र विज्ञापनमा पनि सेन्सर लगाउने 



काठमाडौं : सरकारले अब म्यूजिक भिडियो र विज्ञापनको पनि सेन्सर गर्ने तयारी सुरु गरेको छ । आइतबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा बोर्डमा चलचित्रसँग सम्बन्धित सरोकारवालाहरूसँग छलफल भएको छ ।

चलचित्र विकास बोर्डको सहयोगमा मन्त्रालयले तयार गरेको ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा म्यूजिक भिडियो (सांगितिक चलचित्र) र विज्ञापन चलचित्रलाई चलचित्र जाँच समिति अन्तर्गत सेन्सर गर्ने व्यवस्था गरेको छ । 

संघीय संसदमा पेस हुने तयारीमा रहेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’मा चलचित्रको परिभाषा व्यापक बनाइएको छ ।

कथानक चलचित्रका साथै वृत्तचित्र, कार्टुन चलचित्र, एनिमेसन चलचित्र, टेलिचलचित्र, चलचित्र नाटक, विज्ञापन चलचित्र र सांगितिक भिडियोलाई पनि चलचित्र सम्झिनुपर्ने परिभाषा गरिएको छ ।

सेन्सर भने जाँच समिति (सेन्सर बोर्ड)को अध्यक्षले तोकेको जुनसुकै व्यक्तिले पनि गर्न सक्ने विधेयकको मस्यौदामा उल्लेख छ । 

त्यस्तै टेलिचलचित्रका सम्बन्धमा सम्बन्धित टेलिभिजनलाई नै न्यूनतम मापदण्ड दिएर सेन्सर गर्ने अधिकार दिन सक्ने प्रावधान छ ।हलमा चलचित्र प्रदर्शन सुरु गर्नुअघि अनिवार्य रुपमा नेपालको राष्ट्रिय गीत बजानुपर्ने, चलचित्र सुरु हुनुअघि तथा मध्यान्तरमा सन्देशमूलक वा शिक्षामूलक श्रव्यदृष्य सामग्री प्रदर्शन गर्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख गरिएको छ ।

नेपाल सरकारले नेपालको सुरक्षा वा सार्वजनिक शान्ति तथा व्यवस्थाको निमित्त आवश्यक ठर्हयाएमा कुनै पनि चलचित्र निर्माण, वितरण र प्रदर्शनमा रोक लगाउने सक्ने, स्वदेशी चलचित्र प्रदर्शनसम्बन्धी विशेष व्यवस्था गर्दै हरेक फिल्म हलले फिल्म प्रदर्शन गर्दा स्वदेशीलाई पहिलो प्राथमिकता दिनुपर्ने, स्वदेशी चलचित्रको विकास विस्तार र प्रवर्द्धनका लागि सरकारले तोकेबमोजिमका दिनमा चाँहि नेपाली फिल्म अनिवार्य रुपमा प्रदर्शन गर्नुपर्ने व्यवस्था उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्