भारतलार्इ घेर्ने चीनको रणनीति, म्यानमारमा पनि बन्दरगाह बनाउने



काठमाडौं : चीनले श्रीलंका र पाकिस्तानपछि म्यानमारमा पनि महत्वपूर्ण बन्दरगाह बनाउने तयारी थालेको छ । भारतको तेस्रो ठुलो छिमेकीका रूपमा रहेको म्यान्मारमा रणनीतिकरूपमा महत्वपूर्ण बन्दरगाह बनाउने सम्झौता भएको हो । यो बन्दरगाह बंगालको खाडीमा बनाइने भएको छ । 

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले शुक्रवार प्रकाशित गरेको समाचार अनुसार चीन र म्यान्मारले क्याउक्प्यु शहरमा गहिरो पानीमाथि समुद्री बन्दरगाह बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । 

दुवै देशले वित्तीय र अन्य मुद्दालार्इ लिएर धेरै वर्षसम्म थन्किएको यो प्रयासलार्इ सार्थकता दिँदै बिहीबार सम्झौता गरेका हुन् । 

चीनले यसभन्दा पहिले पाकिस्तानमा अरब सागर किनारस्थित ग्वादरमा गहिरो पानीमाथि समुद्री बन्दरगाह बनाइरहेको छ । श्रीलंकामा चीनसँग हिन्द महासागरमा अवस्थित हन्बनटोटा बन्दरगाह तयार भइसकेको छ ।

यता भारतीय पक्षले भने चीनले भारतलार्इ घेर्ने रणनीतिका लागि छिमेकी देशहरू रणनीतिक हिसाबले अहम स्थानमा बन्दरगाह बनाइरहेको गुनासो गरेको छ । तर चीनले यी आरोपको निरन्तर खण्डन गरिरहेको छ । 

ग्लोबल टाइम्सका अनुसार चीनको सरकारी कम्पनी सिटिक ग्रुपको अगुवाईमा कम्पनीको एक समूहले म्यान्मारको राजधानीमा क्याउक्प्यू विशेष आर्थिक क्षेत्र प्रबन्धन समितिका प्रारम्भिक सम्झौताको रूपरेखमा हस्ताक्षर गरेको हो । 

यो सम्झौता अनुसार चीनले यो बन्दरगाह बनाउन जम्मा लगानीको ७० प्रतिशत दिनेछ भने म्यान्मारले ३० प्रतिशत लगानी गर्नेछ । परियोजनाको शुरुवाती चरणमा १.३ अर्ब डलरमा बन्नेवाला बन्दरगाहका दुर्इ भाग छन् । बन्दरगाहको निर्माण र परिचालनका लागि संयुक्त उपक्रम बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्