किरण लामा पूर्पक्षकालागि कारागार चलान



विराटनगर : जिल्ला अदालत मोरङले सवारी ज्यान मुद्दामा विराटनगरका किरण लामालाई पूर्पक्षकालागि कारागार चलान गरेको छ। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सवारी ज्यान मुद्दामा लामालाई कारागार चलान गरेको हो।

गत असार १४ गते शनिबार सवारी दुर्घटना गराई फरार रहेका लामालाई प्रहरीले असार १६ गते नियन्त्रणमा लिएको थियो। आइतबार न्यायाधीश शिवाकोटीको इजलासले कारागार चलानको आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए।

असार १६ गते पक्राउ परेकामाथि तीनसाता लामो अनुसन्धान गरेको प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत आइतबार अभियोग दर्ता गरेको थियो। अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा २ का आधारमा पूर्पक्षकालागि पठाएको हो।

उपदफा २ मा ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ’, भन्ने उल्लेख छ।

एयरपोर्ट मोडमा मादक पदार्थ सेवन गरी घरतर्फ फर्कने क्रममा लामाले चलाएको बा२०च ७४० नम्बरको कारले को३प ५६३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शंकरकुमार मिश्र गम्भीर घाइते भएका थिए। मिश्रको विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको थियो।

जग्गा कारोवारदेखि मिटर ब्याजको धन्दा चलाइरहेका उनी यस अघि होटलका व्यवसायीक साझेदार प्रह्लाद गुरागाईलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा गत फागुन ३ गतेपनि पक्राउ परेका थिए। कुटपिट मुद्दामा उनी सात दिन हिरासतमा बसेर छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्