काठमाडौं महानगर : कलङ्की र सोह्रखुट्टेको भरमा मतान्तर



काठमाडौं । २ दिन अगाडि मात्र काठमाडौं महानगरपालिकाको वडा–२७ को मत गणना सुरु हुनेबित्तिकै केशव स्थापितले अन्य धेरै वडामा अग्रता लिएका बालेन शाहले भन्दा धेरै बढी मत पाएपछि उनी एकाएक हौसिएका थिए।

‘२७ वडाबाट म अगाडि बढ्न सुरु गरेको छु’, त्यस मतको रुझानसँगै स्थापितले प्रतिक्रिया दिएका थिए । अहिले चर्चामा रहेको ‘कोर एरिया’कै एउटा वडा त्यो पनि हो । त्यसो त त्यसै वडामा मत गणनामा बसेका बालेन शाहका काउन्टिङ एजेन्ट भने खुसी थिए । बालेनले स्थापितले भन्दा आधा मत पाइरहँदा पनि ती युवा ‘अपेक्षाकृत राम्रो’ भन्दै खुसी थिए। २ हजार ९९७ मत खसेको सो वडामा २ हजार ८८६ मत गणना सकिँदा बालेनले ४५९, नेपाली कांग्रेसकी सिर्जना सिंहले ७३८ तथा एमाले उम्मेदवार केशव स्थापितले ८३६ मत पाए।

९६ प्रतिशत मत गणनामा बालेन त्यस वडामा सिंहभन्दा २७९ तथा स्थापितभन्दा ३७७ मतले पछि परे । त्यस वडाको पूरै मत सकिँदा पनि स्थापितभन्दा बालेन ५०० मतको हाराहारीमा पछि पर्ने देखिएको छ । काठमाडौंको चाबहिल क्षेत्र वडा– ७ मा पर्छ । त्यस वडामा ९ हजार ६४३ मत खसेको छ । त्यस वडामा ७ हजार १०० मत गणना हुँदा बालेनले ४१ प्रतिशत मत पाएका छन् । बालेनले २ हजार ८८७ मत पाइरहँदा सिंहले १ हजार २०८ तथा स्थापितले १ हजार २०३ मत पाए।

वडामा खसेको ७४ प्रतिशत मत गणना हुँदा बालेनले स्थापितलाई १ हजार ६८४ तथा सिंहलाई १ हजार ६७९ मतले पछि पारे । त्यस वडाको थप २६ प्रतिशत मत गणना हुँदा यसै रफ्तारमा अग्रता लिँदा बालेनले दुवै उम्मेदवारलाई २ हजार १०० भन्दा बढी मतले त्यस वडामा पछि पार्ने प्रस्ट देखिएको छ । मत गणना सकिएको वडा– ३२ मा बालेनले ४६ प्रतिशत मत पाए। १२ हजार १५ मत खसेको त्यस वडामा बालेनले ५ हजार ५२३ तथा स्थापितले २ हजार ५६६ मत पाए । त्यस वडामा सिंहले १ हजार ९७१ मत पाइन् । एउटै वडामा बालेनले स्थापितलाई २ हजार ९५७ मतले पछि पारे।

त्यसै वडामा सिंह बालेनभन्दा ३ हजार ५५२ मतले पछि पारे । यी २ वटा वडा बालेनले अग्रता पाएका केही महत्वपूर्ण वडा हुन् । काठमाडौं उपत्यका कोर क्षेत्र भनेर चर्चा गरिएका वडामध्ये २५ र २६ को मत गणना जारी छ । वडा–२८ को मत गणना सकिएको छ । वडा– २५ मखन क्षेत्रमा पर्छ भने २६ नयाँ बजार क्षेत्र, २७ जमल क्षेत्र तथा २८ बागबजार क्षेत्र पर्छ । स्थापित र सिंहभन्दा बालेन पछि परेका २५ वडामा ४ हजार ४४१ मत खसेको थियो । त्यहाँ ५१ प्रतिशत अर्थात् २ हजार २७८ मत गणना हुँदा बालेनले ३७३, सिंहले ५४५ तथा स्थापितले ३३५ मत पाए। त्यस वडाको पछिल्लो ५१ प्रतिशत मत गणनामा बालेनभन्दा स्थापित पछि परिसके भने सिंह १७२ मतले अगाडि परेकी छन्।

यही रफ्तार कायम रहे सो वडाको मतदान सकिँदा सिंहले बालेनलाई ३४५ मतले पछि पार्नेछन् । अहिले बत्तीसपुतलीदेखि तीनकुनेदेखि गैह्रीगाउँसम्मको वडा–९, वडा–१० को बानेश्वर, थापाथली, त्रिपुरेश्वर र भोटे बहाल रहेको वडा– ११ को मत गणना जारी छ । यीमध्ये आफ्नै घरसमेत रहेको वडा–९ मा र वडा–१० मा बालेनले अग्रता लिइरहेका छन्। वडा–९ मा उनले खसेको मतको ३२ प्रतिशत गणना हुँदा स्थापितलाई ६५१ तथा सिंहलाई ५४३ मतले पछाडि पारेका छन्। यो तथ्याङ्कले देखाएको छ कि स्थापितले ‘कोर’ दाबी गरेको वडामा लिने गरेको अग्रताभन्दा त्यस वडामा अहिले नै बालेनको अग्रता छ। यसै रफ्तारमा सो वडाको मत गणना सकिने हो भने यसको लगभग ३ गुणा बढी अग्रता बालेनले आफ्नो वडामा लिनेछन्।

वडा १२, १३, १४, १५, १६, १७, १८, १९ र २० को मत पेटिका यो समाचार तयार पार्दासम्म खोलिएका छैनन्। यसैगरी वडा २१, २२ र २३ मा पनि मतपेटिका खोलिएका छैनन् । गन्न बाँकी रहेका वडामध्ये कलङ्की क्षेत्र रहेको वडा–१४ मा १० हजार ५६२ मतदान भएको छ । यसैगरी सबैभन्दा धेरै मतदान भएको सोह्रखुट्टेमा १२ हजार ३३६ मत खसेको छ। समाचार तयार पार्दा वडा– ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को गणना भइरहेको छ।

सबैभन्दा आश्चर्य त नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको तथा प्रकाशमान सिंहलाई कठिन अवस्थामा पनि निर्वाचन जिताउने गरेको वडा– ११ को सुरुवाती ७०० मत गन्दा सिंहले १९० तथा बालेनले २१८ मत पाए । स्थापितले १०८ मत पाए । सो वडामा ३ हजार ७४९ मत खसेको छ । वडा– २४, २५ र २७ बाहेक अन्य सबै वडामा बालेनले अग्रता लिएका छन् । गन्न बाँकी रहेकामध्ये वडा– १४ र १६ बाक्लो जनघनत्व भएका र काठमाडौंको मूल अथवा शहरी क्षेत्रका हुन् तर अहिले भनिरहिएका ‘कोर’ क्षेत्रभित्र यी क्षेत्रलाई पारिएको छैन । वडा २५ र २७ को अहिलेको आँकडा हेर्दा १२, १३, १४, १५, १७, १८, १९ र २० मा पनि स्थापित बालेनभन्दा एकदमै राम्रो मत पाए भने पनि ५०० को हाराहारीभन्दा बढी मत प्राप्त गर्नेछैनन् ।

यी वडामा स्थापित या सिंहले ४ हजार मत बढी पाए पनि वडा– ९ र १० को गन्न बाँकी मत मा बालेनले पाउने यो अग्रतालाई जोगाउनेछ । तथापि, यी सबै वडामा स्थापित या सिंह नै अगाडि हुन्छन् भन्ने छैन । कुनै वडामा स्थापित र कुनै वडामा सिंह हाबी हुने सम्भावना प्रबल छ।

यो आँकडालाई आधार मान्ने हो भने साह अहिलेको भन्दा मत अन्तरलाई अझ फराकिलो बनाउँदै जित हात पार्ने निश्चित छ । गन्न बाँकी रहेका धेरै वडाको अवस्थालाई हेर्दा बालेन २५ हजारसम्म मतको अन्तरमा विजयी हुने सम्भावना प्रबल छ । यो आँकडामा वडा– १६ र १४ को भूमिका भने पर्खनै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्