नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा



सुर्खेत । कर्णालीका प्रदेशका १० जिल्लामा स्थानीय तह सदस्यको निर्वाचन सकिएलगत्तै निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थालेका छन् । वडाध्यक्षदेखि मेयरसम्मका जनप्रतिनिधिले वृद्धभत्ता आफैँ बाँड्न जानेदेखि मृत्यु संस्कारमा खर्चको जोहो गर्नेसम्मका घोषणा भएका छन् ।

शपथपछि पदभार ग्रहण गर्दा उनीहरूले विभिन्न घोषणा गरिरहेका छन् । कर्णालीका सबै जिल्लाका स्थानीय तहमा नतिजा आइसकेको छ । ७९ पालिकाका जनप्रतिनिधिहरु सुरुमा घोषणको कामलाइ प्राथमिकता दिएको देखिन्छ ।

चुनाव लड्दासमेत विभिन्न एजेण्डाहरू उठाएर चुनावमा अन्य उम्मेदवारभन्दा बढी प्रभाव राख्नका लागि विभिन्न घोषण गरिएका थिए । कतिपयले तिनै एजेण्डालाई अहिले चुनाव जितेपछि दोहोर्‍याउन थालेका छन् । रुकुम पश्चिम चौरजहारी नगरपालिकाबाट पहिलो पटक वादी समुदायको तर्फबाट मेयर बनेका पुष्प वादीले स्वास्थ्य बिमा र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

वादीले नगरभित्रका असहाय, अशक्त, सहिदपरिवार र वादी समुदायको निःशुल्क बिमा गराइदिने निर्णय गरेका हुन् । पदभार ग्रहणसँगै वादीले नगरभित्रका विपन्न नागरिकको स्वास्थ्य उपचारमा सघाउन निर्णय गरे । यसका साथै नगरभित्रका सुत्केरीका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क हुने भएको छ ।

पदभार ग्रहणका क्रममा तीनवटा निर्णयमा हस्ताक्षर गरेका वादीले सुत्केरीका लागि स्वास्थ्य संस्था पुर्‍याउने र सुत्केरी भइसकेपछि स्वास्थ्य संस्थाबाट घरसम्म पुर्‍याउने सेवा निःशुल्क हुनेछ ।

६ नम्बर वडाको एक परिवारलाई १० हजार आर्थिक सहायता गर्ने उनले निर्णय गरेका हुन् । यसैबीच आगलागीका कारण मृत्यु भएकी १९ दिने शिशु सुशीला रोकायको परिवारलाई १० हजार आर्थिक सहायता गर्ने गरी नगरप्रमुख वादीले हस्ताक्षर गरेका हुन् ।

जाजरकोट छेडागाड नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट प्राप्त हुने सेवासुविधा नलिने घोषणा गरेका छन् । पदभार ग्रहण गर्दै प्रमुख खड्काले राज्यबाट प्रदान हुने तलबभत्ता आफूले नलिने घोषणा गरेका हुन् ।

आफूले प्राप्त गर्ने तलब भत्ताबाट कोष स्थापना गरी गरिब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने बताए । ुमैले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिई गरिब तथा विपन्न बालबालिकाहरूमा लगानी गर्नेछु । एउटा कोषको स्थापना गरी उनीहरूलाई सहयोग गर्नेछु । म सेवा सुविधा लिन्नँ,ु उनले भने ।

अघिल्लो निर्वाचनमा निवर्तमान प्रमुख लालबहादुर महतारासँग पराजित खड्काले यस पटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन दल ९ नेपाली कांग्रेस० बाट उम्मेदवार बनेका थिए । ९ हजार १७३ मत ल्याएर खड्काले निवर्तमान महतारालाई पराजित गरेका थिए ।

दैलेखको नारायण नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन् ।

निर्णयसम्बन्धी पत्र सार्वजनिक भएपछि उनको कतिपयले आलोचना पनि गरेका छन् । नेपाली कांग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गरेका छन् । ‘उनीहरूको परिवारमा कोही व्यक्ति निधन भएमा काजकिरिया गर्ने बेलामा पैसा हुँदैन । बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरे पनि त्यही पैसाले ठूलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको हुँ,’ उनले भने ।

उनले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताए । ‘त्यो पनि न्यून आय भएको व्यक्तिका लागि । सु(सम्पन्न व्यक्ति त लिन नै आउँदैन नि ?,’ उनले भने, ‘वर्षमा कम्तिमा ५-१० वटै व्यक्तिहरुको निधन होला । मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए, वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पनि पुग्छ । पारिश्रमिकबाट भएपनि दिन्छु ।’

जाजरकोट शिवालय गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले वृद्धभत्ता गाउँ, गाउँ गएर वितरण गर्ने र न्याय लिन पालिकामा आएका महिलालाई सुरक्षित आवास ,खाना र बस्नको लागि व्यवस्था गर्ने बताएकी छिन् । २४ वर्षीया कान्छी उपाध्यक्ष शाहीले यो पहिलो घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्