ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिइन् १७ वर्षीया किशोरी



काठमाडौं । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–५, ढिमिलेमा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन् । आइतबार उनलाई सडक किनारमा अर्धचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरीका अनुसार गएराति आमाबुबासँगै घरमा सुतेकी उनी राति घरबाट निस्किएकी थिइन्। बिहान ५ बजेतिर उनलाई अर्धचेत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

उनको टाउको, नाक र चिउँडोमा चोट देखिएको छ । जिल्लामा प्रारम्भिक उपचार गरेपछि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । हेलिकोप्टरमार्फत अहिले पीडितलाई त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ।

प्रहरी र चिकित्सकहरुले प्रारम्भिक जाँचबुझमा उनीमाथि जबरजस्ती करणी भएको हुनसक्ने आशंका गरेका छन्। तर पूर्णविवरण आइनसकेकाले यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित बोल्न सक्ने अवस्थामा छैनन्। कक्षा ११ मा पढ्ने उनले सामान्य इसारा गरेर ‘केही शंकेत’ गरेको प्रहरी बताएको छ। त्यसलाई समेत आधार बनाएर प्रहरीले हालै एकजनालाई नियन्त्रणमा लिएको छ । तर, सोधपुछका लागि ल्याएकाले संलग्नता पुष्टि भइसकेको छैन ।

यस विषयमा ओखलढुंगाका कांग्रेस नेता रामहरी खतिवडाले समेत सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर अपराधमा संलग्न भएकालाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्