अस्ट्रेलिया निर्वाचनका सम्भाव्य परिणति



  • ध्रुवहरि अधिकारी

काठमाडौं । अस्ट्रेलियामा आउँदो ३ वर्ष सङ्घीय सरकार सञ्चालन गर्ने अवसर लेबर पार्टीले पाएको छ, जसको नेतृत्व ५९ वर्षीय एन्टनी अल्बेनिजीले गरिरहेका छन् । ९ वर्षसम्म सरकारमा रहेको पार्टी लिबरलले शनिबार भएको निर्वाचनमा बहुमत गुमाएको छ; प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्वीकार गरेका छन् ।

उनी पार्टी नेताको पद पनि छाड्दै छन्, यद्यपि, व्यक्तिगत रूपमा मोरिसन यसपल्ट पनि विजयी उम्मेदवार नै हुन् । संयोग हो, अल्बेनिजी र मोरिसन दुवैलाई सिड्नी शहरकै मतदाताले २ अलग निर्वाचन क्षेत्रबाट चुनेका छन् । स्थानीय टिप्पणीकारहरूका अनुसार सैद्धान्तिक आधारमा अल्बेनिजी केन्द्रबाट अलिकति देब्रे ढल्केको लेबर पार्टीका नेता हुन् भने मोरिसनले केन्द्रबाट थोरै दाहिने झुकाव भएको लिबरल पार्टीलाई हाँकेका थिए ।

मोरिसन परिवार, परम्परा, मूल्य, मान्यतामा विश्वास गर्ने राजनीतिज्ञ हुन् भने अल्बेनिजी आफूलाई गणतन्त्रवादी, पिछडिएको समुदायको निकट, आदिवासीहरूको भूमिका विस्तार गर्न वचनबद्ध राजनीतिक कार्यकर्ता ठान्छन् । मोरिसनका पिता प्रहरी सेवामा थिए भने अल्बेनिजी विपन्न नागरिकलाई दिइने आवासमा आमाले मात्र हुर्काएका छोरा हुन् । बालककालमै उनलाई आमाले छोरालाई ‘तँ गर्भे टुहुरो होस्’ भनेकी थिइन् ।

सन् २०१९ को निर्वाचनमा ‘चामत्कारिक’ हिसाबले आफू विजयी भएका मोरिसनले यसपल्ट भने सहजताका साथ निर्वाचन जित्ने आशा गरेका थिए । कोभिड-१९ को प्रभावकारी नियन्त्रणबाट धेरै मानिसको ज्यान बचाएको, नागरिकलाई राहत रकम उपलब्ध गराएको र रोजगारीका अवसर बढाउन सफल भएको समेतका कारणले आफू लोकप्रिय रहेको उनको मूल्याङ्कन थियो । तर, यस कुराले निर्वाचनका दिनमा महत्व पाएन ।

उता, ३ वर्षअघि जितको सङ्घारमा पुगेको लेबर यसपल्ट हार स्वीकार गर्न तयार थियो तर साबिकका नेता बिल सर्टनको दाँजोमा आकर्षक व्यक्तित्व नमानिएका अल्बेनिजी नेता भएका बेलामा चाहिँ लेबर विजयी हुन पुगेको छ । यस कोणबाट हेर्नेहरूले निर्वाचन परिणामलाई अप्रत्यासित मानेका हुन सक्छन् ।

विदेशी मोर्चा

संसद्को गणितअनुसार बहुमतको सरकार गठन गर्न ७६ स्थान आवश्यक पर्नेमा ताजा आँकडाले लेबरको सङ्ख्या प्रारम्भमा ७० को हाराहारी मात्र देखाएकाले अल्बेनिजीलाई साना दल र स्वतन्त्रहरूको सहयोग लिनुपर्ने अवस्था पर्न सक्ने भनिएको छ । तर, जे होस्, उनले अस्ट्रेलियाका ३१औँ प्रधानमन्त्रीको रूपमा शपथ लिने कुरा पक्का छ ।

शपथको कार्यक्रम छिटै पनि होला, किनभने उनले मंगलबार नै ‘क्वाड’को बैठकमा सहभागी हुन जापान जानुपर्नेछ । अमेरिका, जापान, भारत र अस्ट्रेलिया सामूहिक सुरक्षाको सन्दर्भमा आबद्ध ४ देश हुन्, जो चीनको प्रभाव क्षेत्र विस्तार हुन नदिन प्रतिबद्ध छन् ।

टोकियोमा ३देशका नेताहरूसँग भेट्ने पहिलो अवसरको उपयोग गर्दै छन् उनले । अर्को शब्दमा, उनले आफ्नो कार्यकालको थालनी परराष्ट्र सम्बन्धको मोर्चाबाट गर्दै छन् । देशभित्रको मोर्चामा चाहिँ उनले मूलतः २ वटा चुनौतीको सामना गर्नुपर्नेछः महँगीले जनताको जीवनस्तर कष्टकर गराएको कुरा र जलवायु परिवर्तनबाट सिर्जित आगलागी एवं बाढी-पहिरोसँग सम्बन्धित समस्या । सफा इन्धनको जोहो गर्दै जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय दायित्व पनि निर्वाह गर्नुपर्ने परिस्थिति छ ।

औसत नागरिक किन आशावादी छन् भने, अल्बेनिजीसँग साबिकमा केभिन रडको सरकारमा मन्त्री र उपप्रधानमन्त्रीसम्म भएर करिव ६ वर्ष काम गरेको अनुभव छ । २३ वर्ष संसद्स-दस्य रहिसकेका नेता हुन् उनी । हो, उनीसँग गृह, अर्थ र परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेको अनुभव भने छैन । लेबरकी उपनेत्री तथा वैदेशिक मामिलाकी विज्ञ पेन्नी वोङ अल्बेनिजीकी जोडदार समर्थक हुन् । मलेसियाली मूलकी अस्ट्रेलियाली नागरिक वोङ समलिङ्गी सम्बन्धका अभियन्ताहरूप्रति उदारभाव राख्छिन्, जुन चर्चाको विषय रहँदै आएको छ ।

एसिया-प्रशान्त क्षेत्रमा महत्वपूर्ण स्थान भएको अस्ट्रेलिया अमेरिकाको निकटतम् सहयोगी राष्ट्र हो । यसलाई अमेरिकाले हिन्द-प्रशान्त (इण्डो-प्यासिफिक) भनिने इलाकामा रहेका स-साना टापु राष्ट्रहरू समेट्दा बन्ने ‘प्रशान्त परिवार’ मूलीको रूपमा हेर्दै, सहयोग गर्दै आएको छ । व्यापारको मामिलामा भने अस्ट्रेलिया चीनको निकट छ । भौगोलिक अवस्थितिले पनि अस्ट्रेलियालाई एसिया महादेशबाट टाढा रहन दिँदैन । यसरी, अस्ट्रेलियामाथि एकातर्फ अमेरिकी सुरक्षा प्रणाली र पश्चिमी जीवनपद्धतिसँग निकट रहनुपरेको छ भने अर्कोतर्फ उदीयमान चीन, आसियानसँगको समझदारी बिग्रन दिनु नहुने दायित्व छ । सन्तुलन कायम राख्न निरन्तर सावधानीको जरुरत देखिन्छ ।

विगतमा स्कट मोरिसनको लिबरल सरकार अमेरिकामुखी भएको चीनको अवधारणा रह्यो, त्यसैले आलोचना गरिरहन्छ । एउटा ताजा उदाहरण भएको छ-टापु राष्ट्रमध्ये सोलोमन आइल्यान्डस् । किनभने त्यहाँको सरकारले अस्ट्रेलियासँग परामर्श नै नगरीकन हालसालै चीनसँग सुरक्षा सन्धि गर्‍यो ।

चीनले अस्ट्रेलिया नजिक सैनिक गतिविधि बढाउन सक्ने जोखिम देखियो भनेर अस्ट्रेलियाले आपत्ति जनायो । अमेरिका पनि सशङ्कित छ । यसबारे बेइजिङ र क्यानबेराबीच केही महिनायता भनाभन नै चलिरहेको छ । सोलोमनका प्रधानमन्त्री मनासे सोगाभारे भने सुरक्षा सन्धि आफ्नो सार्वभौम अधिकार मान्छन् । ‘हामी हाम्रो हित आफैँ हेर्न सक्छौँ’ भन्ने उसको सन्देश छ क्यानबेरालाई । यस्तो दाबीलाई स्वभावतः चीनले पनि समर्थन गर्ने नै भयो । फिजी, भानुआतु, टोंगालगायतका देशहरू सोलोमनको साहसबाट उत्साहित हुने सम्भावना पनि टड्कारो हुँदै छ ।

सन्तुलनको प्रश्न

अस्ट्रेलियामा लेबर पार्टीको सरकार गठन भएपछि त्यो चीन निकट हुने हुँदा अमेरिकासँगको सहकार्य केही जटिल हुने अनुमान पर्यवेक्षकहरू गर्दै छन् । पार्टीगत हिसाबले अस्ट्रेलियाको लेबर अमेरिकाको डेमोक्र्याटिक पार्टीकै निकट हुने हो, तापनि सामरिक र रणनीतिक कोणबाट नयाँ सरकार चीन निकट हुने स्थिति देखिन्छ ।

साबिकका लेबर प्रधानमन्त्री र हाल पनि प्रभावशाली नेता केभिन रड चिनियाँ भाषामै कुराकानी गर्न सक्ने कूटनीतिक पृष्ठभूमिका नेता हुन् । यिनलाई एन्टनी अल्बनिजीले आफ्नो संरक्षक नै ठान्छन् । एकथरी टिप्पणीकारहरूले नयाँ प्रधानमन्त्रीले त रडलाई राजदूत बनाएर अमेरिका पठाउने अनुमानसमेत गरेका छन् । त्यसो भयो भने उनले अमेरिकालाई चीनबारे बढी उत्तेजित हुनबाट रोक्नेछन् । यसबाट एक हदमा चीन पनि आश्वस्त हुनेछ भन्ने तर्क गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्