तीन वर्षीया बालिकाको मुखमा पटका पड्काइयो



नयाँ दिल्ली : भारतको उत्तर प्रदेशमा एक बालिकाको मुखमा पटका पड्काइएको छ । दीपावलीको उत्सव चलिरहेको बेला गाउँकै एक युवकले ३ वर्षीया बालिकाको मुखमा जबर्जस्ती पटका पड्काएका हुन् ।

 

गत सोमबार राति तीन वर्षीया बालिका आयुषी घरमा खेलिरहेकी थिइन् । गाउँकै हरपाल नाम भएका एक युवकले उनको मुखमा जबर्जस्ती पटका राखेर पड्काइदिए र त्यहाँबाट भागे ।

 

मेरठ जिल्लाको मिलक गाउँमा यस्तो घटना घटेपछि बालिकाका पिताले सरधना प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपीविरुद्ध हत्या प्रयासको मुद्दा चलिरहेको छ ।

 

प्रहरीका अनुसार मुखमा पटका विष्फोट भएपछि आयुषी गम्भीर घाइते भएकी छन् । विष्फोटको आवाज सुनेपछि परिवारका सदस्य आत्तिँदै बालिका भएतिर आएका थिए । बालिकाको अनुहार गहिरो चोट छ भने अनुहारमा आधा दर्जनभन्दा धेरै टाँका लगाइएको छ । उनी चिन्ताजनक अवस्थामा जीवनका लागि संघर्ष गरिरहेकी छिन् ।

 

हरपालले बालिकालाई चक्लेट दिने बहानामा आयुषीको मुखमा पटका राखेर आगो सल्काइदिएका हुन् । पीडाले छट्पटाइरहेकी बालिकालाई परिवारले तत्काल अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्