अशक्त किशोरीमाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ, एक फरार  



विराटनगर : मोरङको रंगेली नगरपालिका–९ सखुवाथानकी १६ वर्षकी अशक्त किशोरीमाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ परेका छन्। प्रहरीले रङ्गेली ९ संखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरेको हो।

घटनामा संलग्न भनिएका २३ वर्षका सबिन चौधरी फरार छन्। पक्राउ परेका दुई जनलाई करणीसम्बन्धी मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए।

यो घटना गाउँमै पञ्चायती राखेर लेनदेनमा मिलापत्र गरी सामसुस पार्न खोजिएको थियो। असार २६ गते गाउँमै भएको पञ्चायतीमा प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने सहमति गर्दै पीडित परिवारलाई घटना सार्वजनिक नगर्न नल्याउन दबाव दिएका थिए।

तर बलात्कारको घटनामा मिलापत्र गराएको जानकारी पाएलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार गत असार २० राति मादक पदार्थ सेवन गरेका तीनजनाले चुरोट सल्काउन सलाई माग्ने निहुँमा किशोरीको घरमा पुगेका थिए। राति करिब साढे ८ बजेको समयमा शौचालय गर्न निस्किएकी किशोरीलाई घर नजिकैको धान कुट्ने मिलको बरण्डमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ। अशक्त किशोरी राम्रोसँग बोल्न र कान सुन्न सक्दिनन्।

 

प्रतिक्रिया दिनुहोस्