हलेसी मन्दिरमा साढे ८७ लाख भेटी



खोटाङ : धार्मिक पर्यटकीयस्थल हलेसीमा एक वर्षमा साढे ८७ लाख रुपैयाँ बढी रकम भेटी स्वरुप संकलन भएको छ। २०७५ असार १ गतेदेखि २०७६ असार मसान्तसम्ममा ८७ लाख ६६ हजार २ सय ७४ रुपैयाँ भेटी संकलन भएको हो।

हलेसी सूचना केन्द्रले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार श्रद्धालुहरूले भारतीय रुपैयाँ २७ हजार ८०, अमेरिकन डलर ४५ र सिंगापुर डलर १० संकलन भएको छ। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीमा सुन ११ दशमलव ५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल भेटी चढाएका थिए।

संकलित भेटीबाट बसाहाथान पोखरी निर्माण, वेवसाइट निर्माण, सूचना डिस्प्ले बोर्ड निर्माण, मन्दिर व्यवस्थापन समितिको भवनको भ¥याङ तथा रेलिङ निर्माण, मन्दिरका लागि खानेपानी ट्यांकी निर्माण, मन्दिर परिसर रङरोगन, कर्मचारी तलब तथा अतिथि सत्कारमा ४२ लाख ६८ हजार २६७ खर्च भएको केन्द्रका निमित्त प्रमुख सयन्द्र राईले जानकारी दिए।

हलेसीको स्तरोन्नति तथा कर्मचारीलाई तलब दिएर बचेको रकम ४४ लाख ९८ हजार सात रुपैयाँ हलेसीस्थित माछापुच्छ्रे बैंकमा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ।

हलेसी आउने भक्तजन तथा पर्यटकले चढाउने भेटीलाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयका प्रतिनिधिले एकरएक चाबी राख्ने गरेका छन्।

एउटा पक्षले मात्र मन्दिरको चाबी राख्दा पादर्शी नहुने भएकाले चार जना प्रतिनिधिसँग चाबी राख्ने व्यवस्था मिलाइएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर राईले बताए। मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा अहिले बोलबम मेला लागेको छ।

महिना दिनसम्म मेला लाग्ने हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायत ठाउँबाट दर्शनार्थी तथा भक्तजन आएका छन्।

संघीय सरकारको मातहतमा रहेको त्रिधार्मिकस्थल हलेसीमा अहिले जीर्णोद्धारको कामसमेत तीव्र गतिमा भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको संयुक्त ८२ लाख रुपैयाँ लगानीमा प्रतिक्षा कन्ट्रक्शन प्रालि काठमाडौंले जीर्णोद्धारको काम गरिरहेको छ।

विसं २०४४–४५ मा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँलगायतमा सिमेन्ट हटाएर प्राकृतिक रुपले नयाँ संरचना निर्माणको काम भइरहेको छ। शिवलिङ्गलाई घेरिएको सिमेन्टका पिल्लर हटाएर तामाका खम्बा राखिएका छन्।

दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने हलेसीको समग्र विकासका लागि यस वर्ष ८० लाख बजेट विनियोजन भएको छ। धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपले समेत प्रसिद्ध हलेसीको गुरुयोजना निर्माण समेत सुरु गरिएको छ। गुरुयोजना निर्माणका लागि सांसद विशाल भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्