नवनिर्वाचित मेयर पौडेलले भत्काए न्यायिक इजलाश कक्ष



बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन् । उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको इजलाश कक्ष भत्काएर उनले आफ्नो कार्यकक्ष बनाएका हुन् ।

उपमहानगरमा रहेको नगर प्रमुखको कार्यकक्ष हुँदाहुँदै पौडेलले उक्त कक्षमा नबसेर इजलाश कक्ष हटाउँदै उक्त कोठालाई कार्यकक्ष बनाएका हुन् । इजलाश भत्काएर तयार गरिएको कार्यकक्षमै पौडेलले सोमबार बिहान पदभार ग्रहण गरेका थिए ।

न्यायिक कक्षलाई कार्यकक्ष बनाएपछि इजलाशका फर्निचर चौथो तल्लामा रहेको सभाहलमा थुपारिएको छ । नगर कार्यपालिकाको बैठकलगायत विभिन्न कार्यक्रम हुने हलको टेबल र कुर्सीमाथि इजलाश कक्षको फर्निचरलगायतका सामान यत्रतत्र छाडिएका छन् ।

नेपालको संविधान ०७२ धारा २१७ ले प्रत्येक स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्ष संयोजक हुने गरी न्यायिक समिति हुने व्यवस्था गरेको छ । न्यायिक समितिले नगर क्षेत्रभित्रबाट परेका उजुरी र विवादमा छलफल गरी न्याय सम्पादन गर्नेगर्छ । जीतपुरसिमरामा पनि सोहीअनुसार करिब आठ लाख लागतमा न्यायिक इजलाश कक्ष निर्माण गरिइको थियो ।

उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख सरस्वतीदेवी चौधरीले उपप्रमुखको कार्यकक्षसँगै रहेको कोठामा न्यायिक इजलाश बनाएर न्याय सम्पादन गर्दै आएकी थिइन् ।समितिमा निर्वाचित नगरसभा सदस्यमध्ये दुई जना सदस्य, एक जना अधिवक्ता र कर्मचारी रहनेछन् ।

कक्ष भत्काएपछि तत्कालै न्याय सम्पादनको काम प्रभावित हुने भएको छ भने उपमहानगरको सभाहलमा सामान राखिएपछि बैठक तथा कार्यक्रम पनि नहुने भएका छन् । ज्योतिषको सल्लाहअनुसार न्यायिक कक्ष भत्काएको आरोप

कार्यकक्ष तयार गर्नुअघि पौडेलले ज्योतिषसँग सल्लाह लिएको र ज्योतिषले इजलाश कक्षनै उपयुक्त हुने सुझाएको जनाइएको छ । यसपछि ज्योतिषको सल्लाहअनुसार नागरिकले प्रत्यक्ष सेवा प्राप्त गर्ने इजलाश कक्षनै भत्काएर पौडेलले कार्यकक्ष बनाएको स्रोतको भनाइ छ ।

इजलाशलाई कार्यकक्ष बनाएका पौडेलले निवर्तमान उपप्रमुखको कक्षलाई वेटिङ रुम बनाएका छन् । उपप्रमुखको कार्यकक्षलाई वेटिङ रुम र इजलाश हटाएको विषयमा नवनिर्वाचित उपप्रमुख भोलाप्रसाद अधिकारी समेत जानकार थिएनन् । नगर प्रमुख पौडेलले इजलास हटाउने विषयमा सामान्य छलफल समेत नगरेको उपप्रमुख अधिकारीले बताए ।

नगर प्रमुख पौडेलले भने निवर्तमान नगर प्रमुखको कोठामा घाम लाग्ने भएकाले इजलास कक्षलाई कार्यकक्ष बनाएको प्रतिक्रिया दिएका छन् । नवनिर्वाचित नगरप्रमुख पौडेलले घाम लाग्छ भनेको उक्त कोठामा निवर्तमान नगर प्रमुख डा। कृष्ण पौडेलले पहिलो कार्यकाल बिताएका थिए ।

उपप्रमुखको कार्यकक्षलाई नगर प्रमुखले वेटिङ रुम बनाएपछि उपप्रमुख अधिकारीले निवर्तमान नगर प्रमुखको कार्यकक्षमा पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्